News

Mar 14, 2009

डब्लु बुसलाई जुत्ता फ्याँक्ने इराकी पत्रकार तीन वर्षको जेल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बग्दाद/ संयुक्त राज्य अमेरिकाका पूर्व राष्ट्रपति जर्ज डब्लु बुसलाई जुत्ता फ्याँक्ने इराकी पत्रकार मुन्तजर अल जइदीलाई अदालतले तीन वर्षको जेल सजाए सुनाएको छ । आफूविरुद्ध न्यायाधीशले सजाय सुनाइरहँदा जइदीले 'इराक जिन्दावाद' भनेर नारा लगाएका थिए । बग्दादको एक अदालतले मुन्तजर अल जइदीलाई विदेशी राष्ट्राध्यक्षलाई हमलाको दोषी ठहर गरेको छ । जइदीले जर्ज बुसलाई गत वर्षको डिसेम्बरमा बग्दादमा भएको एक पत्रकार सम्मेलनमा जुत्ता प्रहार गरेका थिए । जुत्ता प्रहारको समय जर्ज डब्लु बुस र इराकी प्रधानमन्त्री नुरी अल मल्लिकी पत्रकार सम्मेलनमा संयुक्त रूपमा उपस्थित थिए । इराकको राजधानी बग्दादमा सुनुवाइका क्रममा न्यायाधीशको प्यानल केवल १५ मिनेटमा जइदीलाई सजाय सुनाए । तर, जइदीले अहिलेसम्म आफ्नो दोष स्विकारेका छैनन् । सुनुवाइका क्रममा जइदीले भने 'इराक आक्रमणविरुद्धको अन्य इराकीको जस्तै मेरो प्रतिक्रिया स्वाभाविक थियो ।' अदालतको सजायपछि अदालतबाहिर जइदीका समर्थकले उनका पक्षमा नारा लगाएका थिए । न्यायाधीशको सजायपछि जइदीका कैयौं आफन्त मुर्छा परेका थिए । उनीहरूलाई सहयोगीले बोकेर अदालतबाहिर ल्याएका थिए । आफन्तले इजलास कोठामा नै 'बुस मुर्दावाद, इराक जिन्दावाद' भन्ने नारा लगाएपछि उनीहरूलाई जबरजस्ती कोठाबाहिर निकालिएको थियो । बुसलाई जुत्ता प्रहार गरेको आरोपमा जइदीले १५ वर्षसम्मको जेल सजाय पाउन सक्ने भए तापनि उनको कच्चा उमेर र यसअघि कुनै आपराधिक रेकर्ड नभएका कारण न्यायाधीशले उनको जेल सजाय तीन वर्ष मात्र बनाएको प्रतिरक्षा वकिलहरूले बताएका छन् । जर्ज डब्लु बुसलाई जुत्ता आक्रमण गरेपछि जइदी एकाएक कैयौंका नायक बन्न पुगेका छन् । प्रहरीले उनलाई गिरपतार गरेपछि उनको रिहाइमा हजारौंले मध्यपूर्वमा जुलुस निकालेका थिए । जइदीको जुत्ता प्रहार वैधानिक विरोध प्रदर्शन भएकाले जेल सजाय आवश्यक नभएको उनका वकिलले दाबी गरेका छन् । उनीहरूले पुनः अपिल गर्ने बताएका छन् । 'यो न्यायपालिका न्यायोचित छैन,' जइदीका भाइ दारगाम भन्छन् । उनी डिसेम्बर १४ देखि नै प्रहरी हिरासतमा थिए ।

No comments: