News

Mar 10, 2009

सरकार र आन्दोलनरत् थारु बीच वार्ता बिना निष्कर्ष

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकार र आन्दोलनरत् थारु समूदायबीच मंगलबार भएको वार्ता बिना निष्कर्ष स्थगित भएको छ । दुईपक्षबीच पुनः बुधबार वार्ता हुने बताइएको छ । आन्दोलनरत् थारु समूदायका वार्ता टोलीका नेता लक्ष्मण थारुले सरकार कुनै तयारी बिना वार्तमा आएकोले आजको वार्ता निष्कर्ष विहीन भएको बताए । भोलीसम्म आफूहरुको मागबारे सरकारले सम्बोधन गर्ने छाँटकाँट समेत नदेखिएकोले वार्ता संगै आन्दोलन जारी रहने उनले भने ।सरकारी वार्ता टोलीका संयोजक शान्तिमन्त्री जनार्दन शर्माले वार्ता सकारात्मक भएको प्रतिकि्रया दिए । आन्दोलनरत् पक्षले प्रस्तुत गरेका मागमाथि सरकार तथा विभिन्न पार्टीहरुसंग छलफल गरेर भोली सम्म निष्कर्ष निस्किने उनले विश्वास व्यक्त गरे । राजधानीको बबरमहलरिभिजिटेडमा मंगलबार अपरान्ह साढे ३ बजेदेखि सुरु भएको वार्ता डेढ घण्टामा टुंगिएको थियो । वार्ता गर्ने समयमा भएको विभाजनले आन्दोलनरत् थारु समूदायका चारवटा वार्ता टोली रहेको थियो । थरुहट स्वायत्त प्रदेशका अध्यक्ष लक्ष्मण थारुको नेतृत्वमा ९ सदस्यीय मूल वार्ता समिति बनाइएको छ । त्यसबाहेक थारु कल्याणकारिणी सभाका महामन्त्री राजकुमार लेखीको, एमाले भातृसंगठन नेपाल लोकतान्त्रिक थारु संघका नागेन्द्र चौधरीको, माओवादी सभासद् ईन्द्रजीत थारुको नेतृत्वमा थारु राष्ट्रिय मुक्ति मोर्चाको छुट्टा-छुट्टै वार्ता टोली पनि गठन भएका छन् । मूल समितिमा लेखी पनि रहेका छन् । त्यसवाहेक उपेन्द्र गच्छदार, गोपाल दहीत, शैलेन्द्र चौधरी, सरस्वती चौधरी,सकुन शेरचन,जीतबहादुर कुमाल तथा दुना राजवंशी छन् । वार्तामा माओवादी र एमालेको घुसपैठका कारण वार्ता प्रकृया लम्बिएको तथा आन्दोलनरत् पक्षबीच विभाजन देखिएको राष्ट्रिय आदिवासी जनजाती गणतान्त्रिक मोर्चाका सहअध्यक्ष किशोरकुमार विश्वासले आरोप लगाएका छन् ।थारु बाहेक वार्तमा मुश्लिम समूदायका ४ वटा संगठन पनि सहभागी भएका थिए ।वार्तामा ६ बुंदे राजनीतिक तथा ३ बुंदे आन्दोलनसंग सम्बन्धित माग आन्दोलनकारी पक्षबाट प्रस्तुत गरिएको छ । आन्दोलनसंग सम्बन्धित मागहरुमा सहमति भइसकेको तथा राजनीतिक मागबारे सहमति जुटाउन बाँकी रहेको छ । अन्तरिम संविधान २०६३ को धारा ३३ को खण्ड 'घ' १ मा रहेको प्रावधानमा टेकेर त्यसपछि भएका संविधान संशोधनका क्रममा भएका त्रुटीहरु सच्याइनुपर्ने आन्दोलनरत् पक्षले अडान लिएका छन् ।

No comments: