News

Mar 10, 2009

डुंगा दुर्घटनामा चार जनाको मृत्यु दुइ जना घाइते

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
काभ्रेको तिमालबेसीस्थित सुनकोसी नदीमा सोमबार बिहान भएको डुंगा दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने दुइ जना घाइते भएका छन्।कोसीदेखा गाविसको हात्तीछाँगा महादेवको दर्शन गर्न हिँडेका फलाटे गाविस-८ निवासी शारदा उच्च माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू चढेको डुंगा बेसीगाउँको आपघाट भन्ने ठाउँमा दुघटना भएको थियो। डुंगा दुघटनामा परी ७ कक्षामा अध्ययनरत सुजाता तामाङ, कक्षा ६ की रचना तामाङ, कक्षा ८ का शिवराज खरेल र उनकै बहिनी कक्षा ६ की एकता खरेलको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। साथै कक्षा ८ की मौसमी लामा र उनकी दिदी ८ कक्षामा अध्ययनरत मीना लामालाई भने उद्धार गरिएको छ।स्कुलमा होलीको बिदा भएकाले हामी एउटै विद्यालयमा पढ्ने १२ जना विद्यार्थी हात्तीछाँगा महादेवको मन्दिर जान हिँडेका थियौं’, घाइते मौसमी लामाले भनिन्- पहिला डुंगाबाट हामी ६ जना तर्दै थियौं। बीचमै दुर्घटना भयो।’ अन्दाजी ५० वर्षीया माझीले डुंगा तार्दै थिए, बीचमा साथी शिवराजले डुंगा चलाए, उनले चलाउनासाथ डुंगा अनियन्त्रित भएर डुबिहाल्यो’ -मौसमीले भनिन्। मौसमीको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। डुंगा डुब्नासाथ सबै डराएर नदीमा खसे’, मौसमीले कहालीलाग्दो क्षण सम्झदै भनिन्- सुजाता उठेको देखेको थिएँ, नदीको छालले मलाई र दिदी मीनालाई छेउ लग्यो।’ आधा घण्टापछि उनीहरूलाई अर्का माझीले उद्धार गरेका थिए। मीना भने उपचारपछि घर फर्केकी छिन्। डुंगा पल्टिएपछि माझी भागेको उनले बताइन्। उनका अनुसार ती माझीले मदिरा सेवन गरेका थिए। डुंगा डुबेपछि अर्को ग्रुपका साथीहरू भने अत्तालिँदै हारगुहार गरेको उनी बताउँछिन्। घटना भएलगत्तै जिल्ला प्रहरी कार्यालय धुलिखेलबाट प्रहरी निरीक्षक जितेन्द्र भट्टर्राईको नेतृत्वमा प्रहरीको टोली घटनास्थल पुगेको थियो भने तिमालबेंसी प्रहरीचौकीबाट पनि उद्धारका लागि प्रहरीहरू पुगेका थिए।

No comments: