News

Apr 8, 2009

एथलेटिक्सतर्फ चार नयाँ राष्ट्रिय कीर्तिमान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पाँचौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सतर्फ बुधबार चार नयाँ राष्ट्रिय कीर्तिमान बनेको छ ।दशरथ रंगशालामा भएको महिलाको टि्रपल जम्पमा नेपाल प्रहरीकी केशरीले चौधरीले ११.३० मिटर हाम्फाल्दै कीर्तिमान कायम गरिन् । केशरीले आफ्नै नाममा रहेको ११.१९ मिटरको कीर्तिमानलाई सुधार गरेकी हुन् । प्रहरीकै सावित्री नेपाल दोश्रो तथा पश्चिमाञ्चलकी जितकुमारी चौधरी तेश्रो भइन् ।महिलाकै ज्याभ्लिनमा मध्यपश्चिमाञ्चलकी बसन्ती कुमाल चौधरीले राष्ट्रिय कीर्तिमान बनाइन् । उनले ३५.४६ मिटर थ्रो गरिन् । यसअघि ३५.२८ मिटरको कीर्तिमान लीलाकुमारी थापाको नाममा थियो । मध्यपश्चिमकी अन्जु चौधरी दोश्रो तथा मध्यमाञ्चलकी अमृता चौधरी तेश्रो भइन ।त्यस्तै पुरुषको १ सय १० मिटर बाधा दौडमा एपीएफका सन्तोष श्रेष्ठ कीर्तिमान रच्न सफल रहे । उनले निर्धारित दूरी १६.०८ सेकेन्डमा पूरा गरे । उनले राजेन्द्र कुबँरको नाममा रहेको १६.१७ मिनटको कीर्तिमान भंग गरेका हुन् । प्रहरीका धिरेन्द्र चौधरी दोश्रो भए भने मध्यमाञ्चलका किरण चौधरी तेश्रो स्थानमा रहे ।अर्को कीर्तिमान ४ सय मिटर महिला दौडमा बन्यो । हिट चरणको खेलमा एपीएफकी प्रमिला रिजालले ओलम्पियन चन्द्रकला थापाको नाममा रहेको ६०.०० सेकेन्डको प्रदर्शनलाई ५९.९० सेकेन्डले सुधार गरेकी थिइन् । फाइनल चरणको खेल भने हुन बाँकी छ । उक्त खेल बिहीबार हुनेछ ।महिलाको ५ हजार मिटर दौडमा एपीएफकी सूर्यामाया राईले १८ मिनेट २९.०७ सेकेन्डमा दूरी पूरा गरी पहिलो भइन् । सूर्यामायाको यो दोश्रो व्यक्तिगत स्वर्ण हो । मध्यपश्चिमकी विश्व रुपमा बुढा दोश्रो तथा मध्यमांचलकी हरिदेवि राजलवत तेश्रो भइन् ।पुरुषको १० हजार मिटर दौडमा एपीएफका अर्जुन ढकाल पहिलो भए । उनले निर्धारित दूरी ३२ मिनट ०८.३५ सेकेन्डमा पूरा गरे । मध्यपश्चिमका लक्ष्मण मल्ल ठकुरी दोश्रो तथा त्यसै क्षेत्रका दुर्गा बुढा तेश्रो भए ।पाँचौं राष्ट्रिय खेलकुदको पौडीमा करिश्मा कार्कीले बुधबार थप दुई स्वर्ण हात पारेकी छन् । करिश्माले महिला २०० मि. फ्रिस्टायल र २०० ब्याकस्ट्रोकमामा सफलता हात पारिन् । यससंगै करिश्माको स्वर्ण संख्या ६ पुगेको छ ।फ्रिस्टायलमा करिश्माले २ मिनेट ४६.२१ सेकेन्ड तथा ब्याकस्ट्रमा ३ मिनेट ०८.१० सेकेन्डको प्रदर्शन गरिन् । फ्रिस्टायल र ब्याक स्ट्रोकमा श्रेया धिताल तथा सुधा श्रेष्ठ क्रमशः दोश्रो र तेश्रो भए ।उनले बटरफ्लाईमा स्वर्ण जितेकी हुन् । निर्धारित दूरी करिश्माले क्रमशः ३:२३.१० तथा १:२६.८० सेकेन्डमा पूरा गरिन् । २०० मिटरमा विविधा रिमाल दोश्रो र सुधा श्रेष्ठ तेश्रो भए भने १०० मिटरमा सुधा श्रेष्ठ दोश्रो र श्रेया धिताल तेश्रो स्थानमा रहे । ७ स्वर्णको नतिजा आउँन बाँकी छ ।

No comments: