News

Apr 2, 2009

मानव खप्पर व्यापार काठमाडौंमा फस्टायो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दुई साताअघि काठमाडौंका दुई ठाउँबाट मानव अस्थिपञ्जर बरामद भएपछि काठमाडौंलाई 'ट्रान्जिट' बनाएर संगठित रूपमा मानव अस्थिपञ्जरको व्यापार भइरहेको तथ्य खुलेको छ । करिब एक वर्षअगाडि काठमाडौंको ज्याठामा १७ थान मानव खप्परसहित एक व्यक्ति पक्राउ परे पनि मानव अस्थिपञ्जरका व्यापारी प्रहरीको फन्दामा परेका थिएनन् । ५ र ६ चैतमा ठूलो मात्रामा मानव खप्पर र नलीहाड बरामद भएपछि प्रहरी मानव अस्थिपञ्जरको व्यापारमा संगठित समूह नै सक्रिय रहेको निष्कर्षमा पुगेको छ । यद्यपी सञ्जालका मुख्य व्यक्तिलाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन । प्रहरीको फन्दामा पर्ने प्रायः सहयोगी मात्र हुने र मुख्य नाइके सधंै उम्कने गरेका कारण अस्थिपञ्जरका व्यापारीको रुट र सञ्जाल अझै यकिन गर्न प्रहरीलाई हम्मे परेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख नवराज सिलवाल भन्छन्, 'यसका व्यापारीहरू निक्कै चलाख देखिएका छन् । प्रायः पक्राउ परेकाहरू सहयोगी मात्र हुने र उनीहरूबाट व्यापारको रुट स्पष्ट नहुँदा अनुसन्धानमा कठिनाइहरू आइरहेका छन् ।'मुख्य नाइकेहरू फेला नपरेका कारण यी सामानहरू कहाँ जान्छन् भन्नेमा समेत प्रहरी अन्योलमा नै देखिन्छन् । मानव खप्पर र हस्तीहाडहरू उपत्यकाबाहिरबाट आउने र काठमाडौंबाट स्थलमार्ग र हवाईमार्ग भएर बाहिरिने गरेको बताए पनि निश्चित रूपमा यहीँ जान्छ भनेर भन्ने सक्ने अवस्थामा छैनन् प्रहरी अधिकारी । सिलवालले भने, 'प्रारम्भिक अनुसन्धानहरूबाट हवाईमार्गबाट प्रायः मध्यपूर्वी देशमा जाने र स्थलमार्गबाट तिब्बत हुँदै अन्य राष्ट्रमा निर्यात हुने गरेको देखिएको छ ।'कहाँबाट आउँछन् ?अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू नेपालमा पक्राउ परेका मानव अस्थिपञ्जरहरू भारतबाट आउने गरेको दाबी गर्छन् । तराईका केही जिल्लाका मानव चिहान खनिने गरेको भए पनि नेपालमा पक्राउ पर्ने अधिकांश मानव अस्थिपञ्जरको स्रोत भारत नै रहेको उनीहरूको दाबी छ । एसपी सिलवालले भने, 'पक्राउ परेका अभियुक्त र फेला परेका अस्थिपञ्जरको अवस्था हेर्दा यो भारतबाटै आएको देखिन्छ ।'वेला-वेला पक्राउ पर्ने अस्थिपञ्जरहरूको रुट हेर्ने हो भने पनि भारत हुँदै नेपालमा मानव अस्थिपञ्जर भित्रिने गरेको स्पष्ट हुन्छ । चालू वर्षमा विभिन्न स्थानमा पक्राउ परेका अधिकांश अस्थिपञ्जर भारतबाट नेपाल आएको पाइएको थियो ।गत २९ पुसमा सशस्त्र प्रहरीको राजस्व गस्ती टोलीले काँकडभिट्टामा भारतबाट आएको एक सय ८० थान मानव खप्पर र आठ थान नलीहाड फेला पारेको थियो । तीनवटा झोलामा आएको सो सामग्री नेपालको पूर्वी नाकाबाट आएको अनुसन्धानको क्रममा खुलेको थियो । भारतस्थित बिहारको गयामा रहेको बक्सर भन्ने स्थान मानव अस्थिपञ्जर लिने मुख्य थलो रहेको एक प्रहरी अधिकारीले बताए । बक्सरमा आएपछि गंगा नदी समथर बन्ने र गंगामा बग्दै आउने मानव अस्थिपञ्जरहरू छरिने गरेकाले बक्सरमा भारतीयहरूले अस्थायी छाप्रो बनाएर अस्थिपञ्जर संकलन गर्ने गरेको उनको भनाइ छ । उनले भने, 'त्यहाँ टाउको एक सय ५० देखि दुई सयमा र नलीहाड एक सयदेखि एक सय ७५ सम्ममा सहजै किन्न पाइन्छ ।' नेपालमा पक्राउ पर्ने अधिकांश अस्थिपञ्जर बक्सरबाटै आएको उनी बताउँछन् ।

No comments: