News

Apr 7, 2009

माओवादी खेलाडीको प्रवेशले नेपाली सेनाका खेलाडीले नखेल्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादी जनमुक्ति सेना क्लबले भाग लिने ६ खेलमा नेपाली सेनाका खेलाडीले नखेल्ने निर्णय गर्दै राष्ट्रिय खेलकूद प्रतियोगितास्थल छाडेका छन् । माओवादी जनमुक्ति सेनालाई बिभागीय टोलीका रुपमा पाँचौ राष्ट्रिय खेलकूद प्रतियोगितामा भाग लिन दिइएपछि नेपाली सेनाले खेलस्थल दशरथ रंगशालामा रहेको आफ्नो झण्डा लगेको छ । खेलस्थलमा सबै टोलीको झण्डा राख्ने प्रचलन छ । चैत २५ गते बिहान ७ बजेदेखि सुरु हुनुपर्ने खेल प्रतियोगितामा जनमुक्ति सेना क्लबले भाग लिने फुटवल, भलिबल, कराँते, ब्याडमिन्टन, तेक्वान्दो र एथलेटिक्समा सेनाको टोलीले भाग नलिने अनौपचारिकरुपमा बताइसकेको खेलकूद परिषद श्रोतले बतायो । प्रधानमन्त्री पुष्पकमल दाहालको लिखित निर्देशनमा चैत २४ गते मात्र जनमुक्ति सेनालाई बिभागीय टोलीका रुपमा खेलकूद प्रतियोगितामा भाग लिन दिने निर्णय राष्ट्रिय खेलकूद परिषदले गरेको थियो ।माओवादी जनमुक्ति सेना क्लबले भाग लिएका खेलमा नेपाली सेनाले बहिष्कार गरेपछि सशस्त्र प्रहरी तथा जनपद प्रहरीको सहभागिता पनि अन्यौलमा परेको श्रोतहरुले बताएका छन् । यद्यपि, अहिलेसम्म सशस्त्र प्रहरी र जनपद प्रहरीका टोलीले खेलस्थल छाडेका छैनन् । यसअघि पूर्वाञ्चल, मध्यमाञ्चल, पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल, सुदुरपश्चिमाञ्चल, नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरी टोलीले राष्ट्रिय खेलकूद प्रतियोगितामा भाग लिने बताइएको थियो ।

No comments: