News

Apr 1, 2009

सुरक्षाकर्मीको सहायतामा पेट्रोलियम पदार्थ ढुवानी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सुरक्षाकर्मीको सहायतामा राजधानीमा केही ढुवानी व्यवसायीले मंगलबार थानकोट डिपोबाट पेट्रोलियम पदार्थ ढुवानी गरेका छन् । सरकारले अत्यावश्यक सेवाअन्तर्गत पेट्रोलियम पदार्थ ढुवानीमा सुरक्षा दिने निर्णय गरेपछि व्यवसायीले पेट्रोल उठाएका हुन् । आपूर्ति व्यवस्था समितिको सोमबार बसेको बैठकले पेट्रोलियम पदार्थ ढुवानी र बिक्रीका लागि सुरक्षा दिने निर्णय गरेपछि मंगलबार ४८ ट्यांकले ढुवानी गरेका हुन् ।थानकोट डिपोबाट मंगलबार ३ सय ५० किलोलिटर डिजेल, १ सय ६० लिटर पेट्रोल र ४८ लिटर मट्टीतेल उठेको आयल निगमका महानिर्देशक दिगम्बर झाले जानकारी दिए । उनका अनुसार, सुरक्षा दिएर ट्यांकरलाई विभिन्न पेट्रोलपम्प पुर्‍याइएको हो । थानकोट डिपोबाट मंगलबार सेना, प्रहरी र साझाका पेट्रोपपम्पसहित दुई दर्जनभन्दा बढी निजी पेट्रोल पम्पहरूले पेट्रोलियम पदार्थ बिक्रीका लागि उठाएका छन् । मंगलबार ३६ पम्पले पेट्रोल उठाएको झाले बताए । थानकोट डिपोबाट पेट्रोलियम पदार्थ उठाउन रोक्न खोज्ने १५ जनालाई प्रहरीले पक्राउ गरी साँझ छाडेको छ । यसैबीच सरकारले बुधबारबाट आवश्यक सेवा ऐन लागू गर्ने भएको छ । गृह मन्त्रालयका प्रवक्ता नवीन घिमिरेले बुधबार सूचना जारी गरी ऐन लागू गर्ने बताए । सोमबार आपूर्ति समितिको बैठकले ऐन लागू गर्न गृह मन्त्रालयलाई आग्रह गरेको थियो । पेट्रोलियम ढुवानी व्यवसायी र बिक्रेताले छुट्टाछुट्टै माग राखी आन्दोलन गरेपछि सरकारले ऐन लागू गर्न लागेको हो । ढुवानी व्यवसायीले आयल निगमले २० वर्ष पुराना ट्यांकर हटाउने निर्णय गरेको विरोधमा आइतबारदेखि ढुवानी बन्द गरेका छन् भने बिक्रेताले पनि उद्योगलाई प्रतिलिटर डिजेलमा १० सहुलियत दिने निर्णयको विरोधमा सोमबारदेखि बिक्री बन्द गरेका हुन् । ढुवानी व्यवसायी महासंघका उपाध्यक्ष सिद्धिलाल श्रेष्ठले माग पूरा नहुन्जेल आन्दोलन जारी रहने बताए । उनले आयल निगमले वार्तामा बोलाए आफूहरू छलफल गर्न तयार रहेको जानकारी दिए । सुरक्षा दिएर पेट्रोलियम पदार्थ उठाएपछि व्यवसायी दुई खेमामा विभक्त भएका छन् । केहीले सरकारसँग वार्ता चालू राखी पेट्रोल ढुवानी गर्ने बताएका छन् भने केहीले पूर्णरुपमा ढुवानी ठप्प पार्ने अडान राखेका छन् ।

No comments: