News

Nov 5, 2008

अमेरिकाको राष्ट्रपति पदमा बाराक ओबामा निर्वाचित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अमेरिकाको राष्ट्रपति पदमा डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवार रहनुभएका बाराक ओबामा निर्वाचित हुनुभएको छ । अन्तरराष्ट्रिय समाचार संस्थाहरुका अनुसार विजयसँगै हृवाइट हाउसमा प्रवेश गर्ने उहाँ अफ्रिकी मूलका पहिलो अमेरिकी हुनुभएको छ । फ्लोरिडा, आहियो, पेनसिल्भानिया, भर्जिनिया र अन्य कडा प्रतिस्पर्धा भएका राज्यमा विजय हासिल गरेर ओबामाले आफ्ना रिपब्लिकन प्रतिद्वन्द्वी जोन म्याककेनलाई नराम्ररी पछाडि पार्नुभयो ।अमेरिकामा राष्ट्रिय वित्तीय सङ्कट आएदेखि नै आफूलाई परिवर्तनको पक्षधर उम्मेदवारका रूपमा उभ्याएर केन्याली मूलका काला बुबा र कन्सास राज्यकी गोरी आमाका सन्तान ओबामा निर्वाचन सर्वेक्षणमा पनि अगाडि देखिनुभएको थियो । यसैबीच राष्ट्रपति जर्ज डब्ल्यु. बुसले टेलिफोन गरी आफ्ना उत्तराधिकारी डेमोक्रयाट ओबामालाई बधाई दिएको हृवाइट हाउसका प्रवक्ता डाना पेरिनोले बताएकी छन् । यसैगरी जोन म्याककेनले आफ्नो हार स्वीकार्दै आफूले टेलिफोन गरी ओबामालाई बधाई दिएको बताउनुभयो ।"अमेरिकी जनताले बोलेका छन् र उनीहरूले स्पष्टरूपमा बोलेका छन्, केही समय अघि मैले मुलुकको भावी राष्ट्रपतिमा निर्वाचित भएकोमा बाराक ओबामालाई बधाई दिएँ"- म्याककेनले आफ्ना समर्थकहरूमाझ भन्नुभयो ।

No comments: