News

Nov 7, 2008

सरकार सञ्चालनका नीति एवम् विधिहरु निर्धारण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकार सञ्चालनमा निर्देशन एवं आवश्यक परामर्शका बारेमा नेकपा माओवादी र नेकपा एमालेको उच्चस्तरीय संयोजन संयन्त्रको आज बिहीबार बसेको बैठकले विभिन्न निर्णयका साथै सरकार सञ्चालनका नीति एवम् विधिहरु निर्धारण गरेको छ । राजनीतिक नियुक्ति एवम् अन्य सरुवा, बढुवालगायतका काम गर्दा सरकारले नातावाद एवम् अन्य केही प्रक्रियालाई नहेरी कुशलतापूर्वक काम गर्न सक्ने र दक्ष व्यक्तिलाई प्राथमिकता दिनुपर्ने विधि संयन्त्रले तय गरेको छ ।संयन्त्रले आफ्नो कामप्रति प्रतिबद्ध नरहेका, भ्रष्टाचारी एवम् विगतमा बदनामित रहेका व्यक्तिहरुलाई नियुक्ति, बढुवालगायतका काममा प्राथमिकता दिन नहुने र जसको निरन्तरताबाट आफन्त या नातावादका विकृतिहरु देशको राजनीतिक एवम् प्रशासनिक क्षेत्रबाट हटाउने गरी काम गर्न पनि सरकारलाई निर्देशन दिने निर्णय गरेको छ । नेकपा माओवादीका तर्फबाट संयन्त्र सदस्य नेता दीनानाथ शर्माले सरकार सञ्चालनका अन्य विधि र प्रक्रियाहरुलाई नीतिगत रूपले नै सम्बोधन गर्ने गरी समितिले काम गरिरहेको जानकारी दिनुभयो । साथै उपराष्ट्रपति परमानन्द झाले सेना समायोजनसम्बन्धी सरकारद्वारा गठित समितिको वैधानिकतासम्बन्धी हिजो बुधबार दिनुभएको अभिव्यक्ति आपत्तिजनक र अमर्यादित भएको ठहर संयन्त्रले गरेको छ ।

No comments: