News

Nov 7, 2008

नेपालको एकतालाई कुनै पनि शक्तिले फुटाउन नसक्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसारको कुनै पनि शक्तिले नेपालको एकतालाई फुटाउन नसक्ने बताउनुभएको छ । प्रधानमन्त्री प्रचण्डले कुरा पोकली झरना ओखलढुङ्गा महोत्सवको उद्घाटन गर्दै बिहीबार यस्तो बताउनुभइएको हो ।प्रधानमन्त्री प्रचण्डले आफुले जनतालाई कहिल्यै झुठ्ठा आश्वासन नदिने र भ्रमको खेती नगर्ने प्रतिबद्धता व्यक्त गर्दै राज्यको सीमित स्रोत र साधनलाई अधिकतम् परिचालन गर्नेतर्फ सरकार कटिबद्ध रहने बताउनुभयो । उहाँले नेपालको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन र समयमानै संविधान निर्माण गर्नेतर्फ सरकार कटिबद्ध रहेको पनि उल्लेख गर्नुभयो ।संस्कृति तथा राज्य पुनसंरचना मन्त्री गोपाल किराती राइले पोकली झरनाको विकासले ओखलढुङ्गावासीको जीवनस्तरमा सुधार आउने बताउनुभयो । पर्यटन तथा नागरिक उड्डयनमन्त्री हिसिला यमीले नेपालको दुर्गमतालाई चिर्नका लागि दसवर्षे ऐतिहासिक जनयुद्ध भएको दावी गर्नुभयो ।ग्रामीण पर्यटनको विकास गर्ने उद्देश्यले पोकलीमा उक्त दुइ दिने महोत्सव आयोजना गरिएको हो । महोत्सवमा सुनुवार, तामाङ, शेर्पा, परियार, मगर, गुरुङ, सार्की आदिले आ-आफ्नो संस्कृति झल्काउने झाँकीहरू प्रदर्शन गर्नुका साथै स्थानीय आमासमूहले रत्यौली र रामछाप गोठगाउँका समुदायले डम्फुनाँच प्रस्तुत गरेका थिए ।

No comments: