News

Nov 7, 2008

सम्पति फिर्ता नभए बजेट पारित हुन नदिने - रामशरण महत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कोटेश्वरका ब्यापारि रामहरि श्रेष्ठको हत्यामा संलग्न माओवादी जनमुक्ति सेनाका कमाण्डर कालिबहादुर खामलाई कारवाही नगरिएकोबारे सरकारले स्पष्ट नपारे तथा माओवादीले कब्जा गरेको सम्पति फिर्ता नभए बजेट पारित हुन नदिने चेतावनी नेपाली कांग्रेस नेता डा. रामशरण महतले दिएका छन् । नेपाली कांगेसका महामन्त्री तथा सभासद डा. रामशरण महतले कोटेश्वरका ब्यापारी रामहरि श्रेष्ठको हत्यामा संलग्न माओवादी जनमुक्ति सेनाका निलम्बित डिभिजन कमाण्डर कालिबहादुर खाम विविधलाई कानुनी कारवाही नगरिएकोबारे गृहमन्त्री र रक्षामन्त्रीले जवाफ नदिए संसद चल्न नदिने चेतावनी दिएका छन् । कार्तिक २२ गते बिहान साढे ११ बजेदेखि सुरु बिधायिका संसदको बैठकमा बिशेष समय लिएर बोल्दै महतले माओवादीले कब्जा गरेको सम्पति क्षतिपूर्तिसहित फिर्ता नगरे पनि संसद अवरुद्ध गर्ने चुनौती दिए । 'ती दुवै कुरा भएनन् भने हामी बजेट पनि पारित हुन दिन्नौं' महतले भने । बिधायिका संसदमा आज बिनियोजन बिधेयक अन्तरगत मन्त्रालय शिर्षकमा सभासदहरुले उठाएका प्रश्नहरुको ६ मन्त्रीले छुट्टाछुट्टै जवाफ दिने कार्यक्रम तोकिएको छ । बिशेष समयमा बोल्दै अर्का सभासद तथा तराई मधेश लोकतान्त्रिक पार्टीका नेता हृदयेश त्रिपाठीले सरकारले बनाएको सेना समायोजन बिशेष समिति असंवैधानिक भएकाले त्यो बिघटन हुनुपर्ने माग गरे । सत्ताधारी दलका प्रमुख सचेतक र सचेतकहरुलाई मात्र बिशेष सुविधा दिने निर्णय सरकारले गरेको उल्लेख गर्दै त्रिपाठीले त्यसबारे सरकारले जवाफ नदिए कार्तिक २३ गते संसद अवरुद्ध गर्ने चेतावनी दिए । उपराष्ट्रपति परमानन्द झाले सेना समायोजन बिशेष समितिबारे बोलेको कुरामा माओवादी र एमालेको संयन्त्रले गरेको निर्णय आपत्तिजनक भएको पनि त्रिपाठीको भनाई थियो । संयन्त्रले उपराष्ट्रपतिको भनाई असंवैधानिक रहेको कार्तिक २१ गते निर्णय गरेको थियो । संसदमा माओवादी सभासद खडगबहादुर बिकले सहमतिको राजनीति नेपाली कांग्रेसले तोडेको दावी गरे भने एमाले सभासद रविन्द्र अधिकारीले संविधानसभामा सत्ता र प्रतिपक्षको ब्यवहार भए संविधान बन्न नसक्ने उल्लेख गरे ।

No comments: