News

Nov 8, 2008

मट्टीतेलको खपत घटयो डिजेल र मट्टीतेलको मूल्य समान भएपछि

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
डिजेल र मट्टीतेलको मूल्य समान भएपछि पछिल्लो एक सातामा मट्टीतेलको खपत ३९ प्रतिशतले घटेको छ। नेपाल आयल निगमले गत शनिबार डिजेल र मट्टीतेलको मूल्य समान प्रतिलिटर ६५ रुपियाँ बनाएको थियो। समान मूल्य भएपछि अहिले मट्टीतेलको माग भारी मात्रामा घटेको आयल निगमका अध्यक्ष एवम् वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव पुरुषोत्तम ओझाले जानकारी दिनुभयो।विगत तीन साता अघिसम्म मट्टीतेलको मूल्य ६५ थियो भने डिजेलको ८० रुपियाँ प्रतिलिटर थियो। एक लिटरमा १५ रुपियाँको अन्तरका कारण डिजलमा ठूलो मात्रामा मट्टीतेलको मिसावट हुने गरेको र अहिले समान मूल्यले डिजेलमा मिसावट बन्द भएका कारण मट्टीतेलको माग नै घटेको सचिव ओझाले उल्लेख गर्नुभयो।निगमले समान मूल्य गर्नुअघिको एक साताको अवधिमा १२ लाख ७८ हजार ५ सय ५४ लिटर मट्टीतेल बिक्री गरेकोमा मूल्य एउटै भएपछिको एक सातामा ७ लाख ७८ हजार ८ सय ८७ लिटर मात्र बिक्री भएको छ। मट्टीतेलको खपत यसरी घट्नुले विगतमा मिसावट व्यापक रूपमा हुने गरेको पुष्टि भएको निगम अधिकारीहरूले उल्लेख गरेका छन्। विगतमा निगम सुधारका लागि गठित धेरै समितिहरूले मट्टीतेलको दुरुपयोग भएको उल्लेख गर्दै डिजल र मट्टीतेलको समान मूल्य गर्नुपर्ने सुझाव दिएका थिए। मट्टीतेल र डिजलको मूल्यमा रहेको अन्तरका कारण कम मूल्यको मट्टीतेल बढी मूल्य पर्ने डिजलमा ठूलो मात्रामा मिसावट विगतमा हुने गरेको दाबी निगमका अधिकारीहरूको छ।

No comments: