News

Mar 5, 2009

एक कर्मचारी ४१ वर्षदेखि एउटै जिल्लामा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
निजामती कर्मचारीको सामन्यतः दुई वर्षमा सरुवा हुने प्रावधान छ । तर, एक कर्मचारीले ४१ वर्षदेखि एउटै जिल्लामा रहेर काम गर्ने अवसर पाएका छन् । क्षेत्रीय स्वास्थ्य निर्देशनालयका लेखा-उपसचिव सत्यनारायण श्रेष्ठ ४१ वर्षदेखि धनकुटामा रहेर सेवा गर्दै आएका छन् । उनले धनकुटा जिल्ला अदालतमा लेखापालबाट सेवा प्रारम्भ गरेका हुन् । उनलाई हालसम्म अन्य जिल्ला जान परेको छैन । ०६१ सालमा उनी क्षेत्रीय स्वास्थ्य कार्यालयमा सरुवा भएका थिए । धनकुटा बीचबजारका बासिन्दा श्रेष्ठले घरभन्दा १५ मिनेटभन्दा धेरै समय लाग्ने कार्यालय धाउनुपरेको छैन । अन्य कर्मचारीले एकै जिल्लामा काम गर्न रहर हुँदाहुँदै पनि छोटो समय मात्रै बस्न पाउँछन्, तर श्रेष्ठले किन यति लामो समयसम्म यस्तो अवसर पाए त ? उनी भन्छन्, 'यो प्रभुको आशीर्वाद र साथीभाइको सहयोग हो ।' सत्यनारायण मात्रै होइन उनकी श्रीमतीले पनि २५ वर्ष लगातार नेपाल बैंक लिमिटेड धनकुटामै काम गर्ने अवसर पाएकी छिन् । एउटै जिल्लामा दम्पतीले नै काम गर्न पाएकामा खुसी हुँदै उनले भने, 'म त साह्रै भाग्यमानी रहेछु ।' उमेरहदका कारण उनी अब एक महिनापछि अनिवार्य अवकास लिँदै छन् ।

No comments: