News

Mar 12, 2009

अनलाइन विश्व वेभक्याम कविता प्रतियोगिता २०६५ को नतिजा घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,वेलायत
अनलाइन विश्व वेभक्याम कविता प्रतियोगिता २०६५ को अन्तिम नतिजा घोषणा भएको छ। विश्वका १७ मुलुकबाट १ सय १९ जना नेपाली कवि तथा कवयत्रिहरुको सहभागिता रहेको प्रतियोगितामा अमेरिकाबाट सहभागि हुनुभएका उत्तमबाबु श्रेष्ठ प्रथम हुनु भएको छ। यसैगरी दोस्रो स्थान पोर्चुगलबाट सहभागि अमृत परियार र तेस्रो स्थान अमेरिकाबाटै सहभागि नम्रता गुरागाईले प्राप्त गर्नुभएको छ। जम्मा ८५ वटा प्रतियोगि कविता मध्येबाट उत्कृष्ट १५ बटा छनौट गरिएको छ। गत श्रीपंचमी अर्थात सरस्वती पूजाको दिन वेभक्याम मार्फत वाचन गरिएका सबै कविताहरुलाई जस्ताको तस्तै रेकर्ड गरेर साहित्यघर डट्क म वेभपेजमा राखिएको छ। उक्त कविताहरुलाई एक महिना अवधिभर हेरेर, सुनेर देशविदेशबाट पाठक, दर्शक तथा स्रोताहरुले भोट गरी लोकप्रिय कविताहरुको पनि चयन गरेका छन् जसमध्ये प्रथम वेलायतबाट सहभागि गोपिकृष्ण प्रसाई, दोस्रो अमेरिकाबाट सहभागि साधना शर्मा र तेस्रो वेलायतबाटै सहभागि लिलासेलिङ मावोका कविता रहेको छ। यस बर्ष विभिन्न ६ मातृभाषा कविताहरुको सहभागिता रहेता पनि उत्साहजनक सहभागिता भएको लिम्बू भाषाको कविताहरु मध्ये भिमा खजुम किर्तिपुरलाई पुरस्कृत गरिएको छ। विजयी प्रतियोगिहरुले अनलाइन सुविधासहितको नगद १५ हजार, १० हजार, ५ हजार र लोकप्रिय कविता छनौटमा विजयी हुनु भएकाले अनलाइन सुविधा सहितको नगद ५ हजार, ३ हजार र १ हजार साथै मातृभाषा कवितामा विजयीले नगद १ हजार रुपैया प्राप्त गर्नेछन। विजयी सबैले प्रमाणपत्र र प्रायोजित उपहार प्राप्त गर्नुहुनेछ। यस बर्षको प्रतियोगितामा क्यानडा, रसिया, पोर्चुगल, अमेरिका, वेलायत, वेल्जियम, दुवई, कतार, मलेसिया, सिंगापुर, भारत, नेपाल, अष्ट्रिया, हङकङ, अफगानिस्तान, इराक र जर्मनीमा रहेका नेपालीहरुले सहभागिता जनाएका थिए। विभिन्न मातृभाषा अन्तर्गत मगर, गुरुङ, राई, सुनुवार, नेवार, लिम्बू लगायत अंग्रेजी भाषाका कवितालाई पनि समावेश गरिएको छ। प्रवासी नेपाली साहित्य समाज (प्रभात), नेपाली साहित्य विकास परिषद वेलायतको सहआयोजना र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वेलायत च्याप्टर विशेष सहयोगि रहेको उक्त प्रतियोगिताका आयोजक अनलाइन नेपाली साहित्य मंच वेलायत रहेको थियो। कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण संस्था, सहयोगि ब्यक्ति तथा मिडियालाई आयोजकको तर्फबाट विश्वासदीप तिगेलाले धन्यवाद ज्ञापन गर्नुभएको छ। स्मरण रहोस वेभक्याम कविता प्रतियोगिता नेपाली साहित्यको इतिहासमा गतबर्ष पहिलो पल्ट आयोजना गरिएको थियो। जसमा विराटनगरका नवराज सुब्बा प्रथम, अमेरिकाका सहदेव पौडेल द्धितिय र जापानका रविन्द्र ढकाल तृतीय हुनु भएको थियो।

No comments: