News

Mar 1, 2009

बैतडीमा बस दुर्घटना, १० को मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बझाङबाट महेन्द्रनगरतर्फ आइरहेको महाकाली यातायातको बस आइतबार दिउँसो जय पृथ्वीबहादुर सिंह राजमार्ग अन्तर्गतको बैतडीको सिद्धेश्वर-३ झलेकमा दुर्घटना हुँदा दसजनाको मृत्यु भएको छ भने पाँचजना गम्भीर घाइते भएका छन् । ना. २ ख ६३५८ नम्बरको बस दुर्घटनामा परी नौजनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजनाको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ । मृत्यु भएकामध्ये पाँचजनाको सनाखत भएको छ । इलाका प्रहरी कार्यालय खोड्पेले दिएको जानकारी अनुसार मृत्यु हुनेहरूमा भीमदत्त नगरपालिका-१४ वनकट्टीका बस मालिक ३४ वर्षीय प्रयागराज भट्ट, बझाङ कोइरालाकोट गाविस-७ का नवराज जोशी, ठेगाना नखुलेकी सुनादेवी थापा र बझाङ सुनिकोट-२ का डबलबहादुर कठायत रहेका छन् । त्यस्तै भीमदत्त नगरपालीका-३ का बस मालिकका भाइ नवराज भट्टको उपचारका लागि टीम अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । दुर्घटनामा परी घाइते हुनेहरूमा बझाङ कोटीदेवल-९ का ५६ वर्षीय इन्द्रबहादुर थापा, रिठाचौपाटा-९ का ३८ वर्षीय मनबहादुर बोहरा, माझी-४ बझाङका रामदत्त, सुनारगाउँ बझाङका विक्रम सुनार र शिवनगर-३ बाजुराका ४३ वर्षीय जगतबहादुर शाही रहेका छन् । उनीहरूमध्येका अवस्था चिन्ताजनक रहेका दुईजना रामदत्त र इन्द्रबहादुर थापालाई टीम अस्पतालबाट नेपालगन्ज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । अत्यधिक गतिका कारण बस दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनास्थलमा उद्धारका लागि इलाका प्रहरी कार्यालय खोड्पे र इलाका प्रहरी कार्यालय पाटन, जिल्ला प्रहरी कार्यालय बैतडीबाट आएको टोलीले शव घटनास्थलबाट निकालेर खोड्पे पुर्‍याएको छ ।

No comments: