News

Mar 2, 2009

सुझाव संकलन गर्न सभासद् पुगेपछि उत्पन्न विवादले १५ घाइते

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
रुकुममा नयाँ संविधानका लागि सुझाव संकलन गर्न सभासद् पुगेपछि उत्पन्न विवादमा झडप हुँदा १५ जना घाइते भएका छन्। रुकुममा माओवादीका सभासद् मात्रै सुझाव संकलन गर्न पठाइएको र अन्य दललाई कुनै जानकारी नै नदिई सुझाव संकलनका नाममा अन्तरक्रिया गरिएको भन्दै अन्य दलले विरोध जनाएका थिए। सुझाव संकलनका लागि सभासद्हरूले अन्तरक्रिया गरिरहेका बेला अन्य दलले नजिकै विरोधमा कोणसभा गरेका थिए। कोणसभामा वाईसीएल कार्यकर्ताले एक्कासि आक्रमण शुरू गरेपछि विभिन्न पक्षबीच झडप भएको थियो।झडपमा परी माओवादीका निर्माण बुढा, केशव रावल, गणेश पुन र विशाल गौतम घाइते भएका छन् भने नेपाली कांग्रेसका सीता ओली, नन्द विष्ट, खड्ग डाँगी, टोपबहादुर खड्का र थलबहादुर खड्का घाइते भएका छन्। यसै गरी नेकपा (एमाले) का देवी ओली, राप्रपाका मुकुन्द शाह, राष्ट्रिय जनमोर्चाका रामप्रसाद पुरी, स्थानीय शिक्षक केशरबहादुर ओली तथा प्रहरी जवानद्वय विकास यम्छी र देवबहादुर नेपाली घाइते भएका छन्। प्रहरीद्वय सामान्य घाइते भएकाले उपचारपछि काममा फर्किए पनि राजनीतिक दलका कार्यकर्ता सिकिस्त भएकाले जिल्ला अस्पताल रुकुममा उपचार्रार्थ लगिएको छ।सुझाव संकलनका लागि सभासद् लोकेन्द्र विष्टको नेतृत्वमा इन्द्रजित र्राई, कमला रोका, सुधन र्राई, संघप्रसाद चौधरी र माया चेपाङ गरी ६ जनाको टोली रुकुम आइपुगेको छ। सुझाव समिति केन्द्रबाट रुकुममा एकांगी तथा एकपक्षीय ढंगले आएको र जिल्लामा पुगेको दुइ दिन बित्दासमेत आफूहरूसँग समन्वय नगरी कार्यक्रम गरेको भन्दै अन्य दलले आपत्ति जनाएका थिए।नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, राप्रपा र नेपाल मजदुर किसान पार्टी छुट्टै कोणसभा गरी नागरिक सुझाव संकलन टोलीले गरेको अन्तरक्रिया कार्यक्रम बहिष्कार गरेको जनाएको थिए।

No comments: