News

Mar 2, 2009

माओवादीले नयाँ संविधानको खाका सार्वजनिक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेकपा माओवादीले कार्यकारी अधिकार राष्ट्रपतिमा निहीत रहने व्यवस्था सहितको नयाँ संविधानको खाका बहसको लागि सार्वजनिक गरेको छ ।पार्टीको संविधान निर्माण सुझाव समितिका संयोजक रहेका डा.बावुराम भट्टराईले छलफलका लागि आफ्नो वेभसाइट मार्फत खाका सार्वजनिक गरेका हुन् ।२१ भाग र १ सय ४५ धारामा विभाजित प्रस्तावित संविधानको प्रस्तावनामा माओवादीले संघीय एकाइहरुको तहगत संरचनालाई संघ, स्वायत्त प्रदेश र स्थानीय उपस्वायत्त क्षेत्र, इलाकामा बिभाजन गरेको छ ।प्रदेशलाई आत्मनिर्णयको अधिकार सहित जातीय स्वायत्तता, उपस्वायत्तता प्राप्त गर्ने हक हुने जनाइएको छ । १३ स्वायत्त प्रदेशको कल्पना गर्दै माओवादीले जातीय र भाषिक बाहुल्यता एवं निरन्तरता, सांस्कृतिक एकरुपता र सामिप्यता, ऐतिहासिकता र भौगोलिक सन्निकटता, प्रशासनिक सुगमता एवं आर्थिक श्रोत साधनको उपलब्धताको आधारमा प्रान्तहरुको सीमा, संख्या्, नाम र संरचना निर्धारण गर्ने प्रस्ताव गरेको छ ।राष्ट्रपति कार्यकारी हुने बहुदलीय प्रतिष्पर्धात्मक व्यवस्था कल्पना गर्दै माओवादीले दुई सदनात्मक व्यवस्थापिकाको प्रस्ताव गरेको छ ।७५ सदस्यीय राष्ट्रिय सभा र २ सय ४५ सदस्यीय संघीय जनप्रतिनिधि सभा माओवादीको प्रस्तावमा छ । स्वायत्त प्रदेश अन्तर्गत जिल्ला, गाँउ- नगर सभा गठन हुने उल्लेख छ ।सामन्तवाद र साम्राज्यवादका पक्षपोषण गर्ने वाहेक जनताको अग्रगामी परिवर्तनलाई आत्मसात गर्ने संघ, संस्था एवं राजनीतिक दललाई स्वतन्त्रता रहने भन्दै माओवादीले सबैखाले दल खोल्न नपाइने संकेत गरेको छ ।माओवादीले मौलिक हक भाग अन्र्तगत आदिवासी, जनजाति, दलित, सीमान्तकृत र अल्पसंख्य्कहरुको हकबारे छुट्टा-छुट्टै उपशीर्षक बनाएको छ । प्रेस स्वतन्त्रताप्रति विगतका संविधानहरुमा जस्तै माओवादीले पनि संचारमाध्यम र संचारसंस्थाको स्वतन्त्रताको व्यवस्था गरेको छ ।

No comments: