News

Mar 4, 2009

आक्रमणबाट जोगिएको श्रीलंकाली क्रिकेट टोली बुधबार घर पुगे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कोलम्बो/ हतियारधारी समूहको आक्रमणबाट जोगिएको श्रीलंकाली क्रिकेट टोली बुधबार घर पुगेको छ । श्रीलंकाली टोलीमाथि मंगलबार पाकिस्तानको लाहोरमा आक्रमण भएको थियो । सो आक्रमणमा परी सात खेलाडी घाइते भएका थिए भने ६ प्रहरी र एक ड्राइभरको ज्यान गएको थियो । 'त्यस्तो अवस्थाबाट जोगिएर हामीमध्ये कोही पनि जिउँदै र्फकन्छौं भन्ने सोचेका पनि थिएनौं,' कप्तान माहेला जयाबर्दनेले श्रीलंका पुगेपछि भने । गम्भीर रूपमा घाइते भएका ब्याटस्म्यान थिलान सामाराविराको कोलम्बोको एक निजी अस्पतालमा घुँडाको शल्यक्रिया हुने भएको छ । उनको घुँडाको गोलीको चोट लागेको छ । थारांगा पारानाभिताना, कुमार सांगकारा, अजन्था मेन्डिस, सुरंका लाकमाल, थिलान थुसारा र सहायक प्रशिक्षक पल फार्बासेलाई सामान्य चोट लागेको थियो । श्रीलंकामा भइरहेको गृहयुद्धको सामना गरिरहेकाले अन्य टोलीभन्दा आतंकवादी हमलाको तनाव सामना गर्न सक्ने क्षमता रहेको कप्तान जयाबर्दनेले बताए । 'हामी आतंकवादी क्रियाकलापको छायाँमा हुर्किएका हौं,' उनले भने, 'बम विस्फोट र गोली चलेको आवाज सुन्ने तथा हेर्ने बानी हामीलाई परेको छ, हामी चिच्यायौं र पीडा पनि भयो, तर एकअर्कालाई सहयोग गर्न भने सकेनौं ।' श्रीलंकाली खेलकुद मन्त्रालयका चिकित्सकका अनुसार खेलाडीहरू दस दिनभित्रमा मैदानमा र्फकन सक्नेछन् । यद्यपि, सामाराविरालाई भने उपचारका लागि बढी समय लाग्ने बताइएको छ । टेस्ट र एकदिवसीय क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडी स्पिनर मुथैया मुरलीधरनले आक्रमणको घटना सम्झँदै भने, 'एक्कासि गोली बसभरि छरियो, मसहित वरिपरि भएकाहरू चिच्याउन थाले ।' इङ्ल्यान्डका पूर्वब्याटस्म्यान क्रिस बोर्ड (म्याच रेफ्री) पनि बुधबार बिहानै म्यानचेस्टर सिटी पुगेका छन् । उनी चढेको गाडीका ड्राइभरको भने निधन भएको थियो । भाग्यले जोगियौं हामी’ श्रीलंकाली क्रिकेट टोलीलाई हतियारधारी समूहको आक्रमणबाट जोगाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए, एक ड्राइभरले । श्रीलंका क्रिकेट टोलीलाई मैदानसम्म पुर्‍याउने जिम्मेवारी बोकेका ड्राइभर थिए- खलिल अहमद । श्रीलंकाली टोलीलाई जोगाएपछि उनको छवि नायकका रूपमा उकासिएको छ । अहमद आफू र खेलाडी 'भाग्यले भाग्न सफल' भएको बताउँछन् । गाडीमा रकेट र गि्रनेडको प्रहार भए पनि सामान्य क्षति मात्र भएकाले भाग्नुलाई भाग्यको संज्ञा दिएका हुन् उनले ।

No comments: