News

Mar 4, 2009

केटी नपाएपछि बाटो खन्न थाले तन्नेरीहरू

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विहार/ बिहे गर्ने आशामा विहारका बारवान कालागाउँका एक सयभन्दा बढी अविवाहितहरू ६ किलोमिटर सडक खनिरहेका छन् । पश्चिमी विहारको बारवान कालागाउँ कैमुर पहाडमा पर्छ । यस गाउँ 'अविवाहितहरूको गाउँ' को रूपमा पनि परिचित छ । गाउँको दुर्गमताका कारण यस गाउँका १६ देखि ८० वर्षसम्मका एक सय २१ गाउँलेहरू अविवाहित छन् । यस गाउँमा ५० वर्षअघि मात्र बिहे भएको थियो । त्यसयता एउटा पनि बिहे गाउँले देखेका छैनन् । 'बिहे गर्नेहरूले पनि सुगम स्थानमा आफ्नो गाउँका बारेमा ढाँटेर बिहे गरेका छन्,' ५० वर्षीय अविवाहित पुरुष रामचन्द खाबार भन्छन् । बाहिरका मानिसहरू बारवान कालागाउँको दुर्गमतासँगै मोआवादी लडाकुहरूदेखि पनि डराउँछन् । यस गाउँमा सुविधाहरू पनि ज्यादै न्यून छ । स्कुलमा शिक्षक छैनन् । पानीको समस्या छ । अस्पताल तथा प्रहरी स्टेसन पनि ४८ किलोमिटर टाढा छ । अति दुर्गम यस गाउँका पुरुषसँग बिहे गर्ने कुरा चल्न थालेपछि केटीका आमा-बुबा नै भन्न थाल्छन्- 'भो, छोरीको बिहेको कुरा नगरौँ ।' 'हाम्रो ठूलो समस्या भनेको अप्ठेरो बाटो भएकाले बाहिरका मानिस यहाँ आउन सक्दैनन्,' दुःखी हुँदै ४० वर्षीय अविवाहित रामलाल यादवले भने । सडकको पहुच नभएका कारण नै गाउँका पुरुषको बिहे नभएको सामाजिक कार्यकर्ता चन्द्रराम यादव बताउँछन् । प्रान्तीय चुनावमा पहिलोपटक उम्मेदवारहरू गाउँमा आएर बिहे गर्ने बाटो सजिलो पार्न वचन दिएका थिए । रामचन्द्र यादवले सडक बनाउने तथा गाउँलेहरूले बिहे नगरेसम्म आफूले पनि बिहे नगर्ने विश्वास दिलाउँदै चुनाव जिते । जनताले उनलाई यही आशामा २००५ को चुनावमा जिताए । तर, विधानसभाको चुनाव जित्नेबित्तिकै उनले गाउँलेका अगाडि नै धुमधामसँग बिहे गरे । अहिले उनको दुई वर्षकी छोरी छिन् । उनी भन्छन्, 'गाउँको स्थितिलाई केन्द्रमा पुर्‍याउन मैले सक्दो प्रयास गरेको छु । प्रान्तीय सभामा पनि मैले यस विषयमा ६ पटक आवाज उठाए । गाउँ वन्यजन्तु संरक्षण क्षेत्रभित्र पर्ने भएकाले हामीले मात्र केही गर्न सक्दैनौँ ।' आफंैले चुनेको प्रतिनिधिको बेवास्तापछि गाउँका मानिसहरू सडक खन्न आफैं थालेका छन् । विगत साढे एक महिनामा उनीहरूले ३ किलोमिटर सडक खनिसकेका छन् । 'हामी चाँडै नै सडक बनाउँछौँ । अन्य पुरुषजस्तै हामी पनि एक दिन बिहे गर्नेछौँ,' २८ वर्षीय सेवो खारबार भन्छन् । सेवोजस्तै रोहित यादव, रामलाल, प्राचरी खारबार, देवनाथ, राजगृह, राम आशीष तथा अन्य अविवाहितहरूको सडक बनेपछि बिहे गर्ने सपना छ ।

No comments: