News

Mar 3, 2009

सहयोगको एम्बुलेन्स बेचिएको खुलासा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अर्बुद रोग निवारण संस्था ताप्लेजुङका तत्कालीन पदाधिकारीले सहयोगस्वरूप प्राप्त एम्बुलेन्स एक वर्षअघि बेचेको रहस्य खुलासा भएको छ । दिलकुमार नेवार सभापति रहेका वेला दुई वर्षअघि संस्थालाई भारतले एउटा एम्बुलेन्स सहयोग प्रदान गरेको थियो । सो एम्बुलेन्स खगेन्द्र अधिकारीको अध्यक्षतामा गठित तीन सदस्यीय सञ्चालक समितिले सञ्चालनमा ल्याएको थियो । तर, एक वर्ष नबित्दै समितिमा विवाद भएको भन्दै संस्थाका अध्यक्ष नेवारले एम्बुलेन्स बेचेको तथ्य खुलासा भएको हो । ताप्लेजुङ तथा मेची राजमार्ग हुदै बिपी स्वास्थ्य प्रतिष्ठान धरान, मोरङको विराटनगरलगायतका क्षेत्रमा चल्ने एम्बुलेन्स उनले झापाको दमकका मानबहादुर मेमोरियल ट्रस्ट कोषलाई एक लाख ३० हजारमा बेचेको संस्थाले जनाएको छ । अरूलाई जानकारी पनि नदिई एम्बुलेन्स बिक्री गर्ने नेवारको भने मृत्यु भैसकेको छ । दमकको मानबहादुर प्रतिष्ठानले मे १ च ५५९ नम्बरको अर्बुद रोग निवारण संस्था ताप्लेजुङको एम्बुलेन्स किनेको जनाएको छ । तत्कालीन एम्बुलेन्स सञ्चालन समितिका अध्यक्ष खगेन्द्र अधिकारीले समितिबाट राजीनामा दिइसकेकाले आफूलाई जानकारी नभएको बताएका छन् । अर्बुद रोग निवारण संस्थाको एम्बुलेन्स हाल झापाको दमकस्थित ट्राफिक कार्यालयमा थन्किएको छ । अनुरोधपछि प्रशासनको निर्देशनमा प्रहरीले एम्बुलेन्स नियन्त्रणमा लिएको संस्थाका वर्तमान अध्यक्ष राजेन्द्र एङदेनले बताए । 'हामी एम्बुलेन्स लिन पटक-पटक गयौँ, तर प्रतिष्ठान सञ्चालकले पैसा नलिई नदिने बताएपछि ल्याउन सकेनौँ,' अध्यक्ष एङदेनले भने । सो एम्बुलेन्स छिट्टै संस्थाको मातहतमा ल्याउने उपाध्यक्ष रामचन्द्र नेपालले जानकारी दिए । यसअघि एम्बुलेन्स बिक्री गर्ने नेवारमाथि कारबाहीको माग गर्दै सो संस्थाले ताप्लेजुङ प्रशासनमा उजुरी दिएको छ । संस्थाको सम्पत्ति दुरुपयोग गरेकामा कारबाही हुने भए पनि बिक्री गर्ने अध्यक्षको मृत्यु भैसकेका कारण समस्या भएको ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले बताए ।

No comments: