News

Mar 3, 2009

माधवकुमार नेपाल र केपी शर्मा ओली पदको शपथ लिएनन्

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एमाले नेता माधवकुमार नेपाल र केपी शर्मा ओली पार्टी केन्द्रीय सदस्य पदको शपथग्रहण कार्यक्रममा सहभागी भएनन् । आठौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूका लागि सोमबार पार्टी मुख्यालय बल्खुमा आयोजित शपथग्रहण कार्यक्रममा दुवै अनुपस्थित रहे । नेपाल र ओलीसँगै भीम रावलले पनि शपथग्रहण गरेका छैनन् । स्रोतका अनुसार महाधिवेशनको मतगणनास्थलमा भेटिएको मतपेटिकाबारे अध्ययन गर्न आयोग गठन, केन्द्रीय सदस्यका उम्मेदवार काशीनाथ अधिकारीको उजुरी र अनुशासन निरीक्षण आयोगमा अध्यक्षको वैधानिकताबारे टुंगो नलागी आफूहरूले शपथ नलिने नेताद्वयले जानकारी गराएका छन् ।महाधिवेशनमा अन्तिम नतिजा घोषणा भएपछि अध्यक्षसहित केहीले बुटवलमै शपथग्रहण गरेका थिए । केन्द्रीय सदस्यका उम्मेदवार अधिकारीले मत परिणाम जोड्ने क्रममा आफू पराजित भएको दाबी गर्दै मत पुनर्याेग गर्न अध्यक्ष खनालसमक्ष निवेदन गरेका छन् । यसैगरी, अनुशासन निरीक्षण आयोगको सदस्यमा उम्मेदवारी नै नदिई नेता अमृतकुमार बोहरालाई आयोगको अध्यक्ष निर्विरोध निर्वाचित भएको घोषणा पनि एमालेभित्र विवादित छ । चुनावी नतिजा घोषणाका क्रममा भेटिएका मतपेटिका र मतपत्रबारे छानबिन गरिने शीर्ष नेताहरूबीच सहमति भएको स्रोतले बताएको छ । एमाले सचिव युवराज ज्ञवालीले भने नेताहरू अरू नै काममा व्यस्त भएकाले शपथग्रहण कार्यक्रममा नआएको हुन सक्ने बताए । 'उहाँहरू अरू कामको व्यस्तताले होला अथवा बुटवलमै शपथ लिइसक्नुभएको पनि हुन सक्छ,' ज्ञवालीले नयाँ पत्रिकासित भने । कतिजनाले शपथ गरे भन्ने हालसम्म यकिन नभएको उनको भनाइ छ । नेता नेपाल र ओलीले बुटवलमा पनि शपथ लिएका थिएनन् । एमाले केन्द्रीय कमिटीमा आठ पदाधिकारीसहित एक सय १५ सदस्य छन् । यसैबीच, सोमबार बसेको एमाले पदाधिकारीहरूको बैठकले चैत १२ र १३ गते नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक बस्ने निर्णय गरेको छ । बैठकका लागि पाँचवटा एजेन्डा पनि तोकिएको छ । केन्द्रीय कमिटी बैठकमा बैठक सञ्चालन विधि, केन्द्रीय कमिटीको संरचना निर्माण, विभागहरू निर्माण, कार्यविभाजन र कार्ययोजनाका पाँच एजेन्डा तय भएको सचिव युवराज ज्ञवालीले बताए ।

No comments: