News

Mar 11, 2009

दलाई लामा निर्वासनको ५० वर्षमा प्रार्थना सभा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तिब्बतलाई चीनले नियन्त्रणमा लिएको ५० वर्ष पुगेको अवसरमा मंगलबार शरणार्थीले स्वयम्भू, कपन र बौद्धलगायतका गुम्बाहरूमा प्रार्थनासभा गरेका छन् । बौद्धस्थित गुम्बामा बिहान दस बजे भेला भएका करिब पाँच सय शरणार्थीले प्रार्थना सकिएलगत्तै चीन विरोधी नारा लगाएका थिए । प्रहरीले नारा लगाउन नरोके हस्तक्षेप गर्ने चेतावनी दिएपछि तितरबितर भएका थिए ।विभिन्न गुम्बामा भेला भई प्रार्थनापछि बाहिर आउने उनीहरूको प्रयास सुरक्षा व्यवस्थाका कारण सफल भएन । विरोध गर्न दूतावास आउन लागेका केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेकामध्ये केहीलाई साँझ छाडिएको छ । चीन विरोधी गतिविधि हुनसक्ने आशंकामा मंगलबार उपत्यकाका तीनै जिल्लामा प्रहरी परिचालित थिए । सम्भावित प्रदर्शन रोक्न बालुवाटारस्थित चिनियाँ दूतावास र हात्तीसारस्थित भिसा शाखामा चौबीसै घन्टा कडा सुरक्षा व्यवस्था गरिएको छ । दुवै स्थानमा बाटो बन्द गरिएको छ । गतिविधि रोक्न मंगलबार बिहानैदेखि महानगरीय आयुक्तको कार्यालयमा उपत्यकाका सबै सुरक्षाकर्मी परिचालन गर्न सक्ने अधिकार पाएको 'विशेष कमान्ड पोस्ट' खडा गरिएको थियो । पोस्टमा प्रमुख जिल्ला अधिकारी, महानगरीय कार्यालयका कार्यवहाक आयुक्त, सशस्त्र प्रहरीका उपत्यका प्रमुख, राष्ट्रिय अनुसन्धानका अधिकृत र काठमाडौं प्रहरी प्रमुख दिनभरि थिए । शरणार्थीलाई एकीकृत हुन नदिन सिन्धुपाल्चोकको बाह्रबीसे, काभ्रेको धुलिखेल, साँगा, नौबिसे र काठमाडौको नांगढुंगा, फर्पिङ, बालाजु बाइपास, नुवाकोट र ककनीमा विशेष चेकजाँच गरिएको थियो । राजधानीमा जम्मा भएका हजारभन्दा बढी तिब्बती केही दिनयता कपनस्थित गुम्बामा दिनहुँ भेला भई प्रार्थना गर्दै आएका थिए ।धार्मिक नेता दलाई लामा तिब्बतबाट निर्वासन भएको ५० वर्ष पुगेको अवसरमा मंगलबार तिब्बतीले संसारभरि प्रदर्शन गरे । दलाइ लामाले निर्वासनको पचास वर्ष पुगेको अवसरमा एक अन्तर्राष्ट्रिय सञ्चार माध्यमलाई दिएको अन्तर्वार्तामा 'चीनमा तिब्बतीले अझै नर्कको जिन्दगी बाँचिरहेको,' दाबी गरेका छन् ।

No comments: