News

Mar 4, 2009

गिनी बिसाउको राष्ट्रपतिको हत्या

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
गिनी बिसाउको राष्ट्रिय रेडियो प्रसारणले सेनापति जनरल बाटिस्टा तागमे ना वाईको हत्या भएको जनाएको छ । मिलिटरी हेडक्वार्टरमा भएको आक्रमणमा उनको हत्या भएको थियो । आइतबार राति भएको विस्फोटमा परेर उनको मृत्यु भएको थियो । सोमबार बिहानसम्म पनि गोली चलिरहेको थियो । र, राष्ट्रपतिको पनि हत्या भएको हुन सक्ने अपुष्ट समाचार पनि आएको थियो । गिनी बिसाउ संसारका अत्यन्त गरिब देशहरूमा पर्छ । यो देश धेरै 'कू' हुने र लागूपदार्थको कारोबार हुने राष्ट्रको रूपमा चिनिन्छ । 'राष्ट्रपति भियरा आफ्नो घर छोडेर भाग्न लाग्दा मारिए । उनको घरमा सेनाप्रमुख ताग्मेनिकट सेनाको एक समूहले आक्रमण गरेको थियो,' सेनाका प्रवक्ताले एएफ्पीसँग भने । सेनाप्रमुख ताग्मेको मृत्युका लागि राष्ट्रपति प्रमुख जिम्मेवार मानिसहरूमध्ये एक भएको पनि उनले बताए । जेनरल ताग्मेका एडिसी लेफि्टनेन्ट ब्वाम नामचिओका अनुसार विस्फोट हुँदा सेनाप्रमुख आफ्नो कार्यालयभित्र थिए । 'उहाँ गम्भीर रूपमा घाइते हुनुभयो । उहाँलाई बँचाउन सकिएन । उहाँको मृत्यु हाम्रा लागि ठूलो क्षति हो,' उनले भने । यो आक्रमणमा कम्तीमा पाँचजना घाइते भएका थिए । कसैले बम र कसैले गि्रनेड आक्रमण भएको बताएका थिए । मिलिटरी हेडक्वार्टरमा भएको आक्रमणपश्चात् सेनाका अधिकारीहरूले दुई निजी रेडियोलाई प्रसारण रोक्न आदेश दिएका थिए । सैन्य प्रवक्ता स्यामुअल फर्नान्डिजले पत्रकारहरूको सुरक्षाका लागि प्रसारण बन्द गराउनुपरेको बताएका थिए । एउटा रेडियो स्टेसनमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, 'हामी आक्रमणकारीहरूलाई खोज्नेछौँ र बदला लिनेछौँ ।' अहिलेसम्म यो आक्रमणका पछाडि को छ भन्ने नखुले पनि यसले पुनः एकपटक गिनी बिसाउको नाजुकता प्रष्ट पारेको छ । नोभेम्बरमा राष्ट्रपति भियरा विद्रोही सैनिकहरूद्वारा उनको घरमा गरिएको आक्रमणबाट बँच्न सफल भएका थिए । र, यसलाई एक असफल 'कू' का रूपमा हेरिएको थियो । राष्ट्रपतिलाई त्यसपछि आफ्नो बचाउका लागि उनकै एक मिलिसिया दिइएको थियो । जनवरीमा उक्त मिलिसियाले सेनाप्रमुखलाई मार्न खोजेको आरोप लागेपछि यसलाई खारेज गरिएको थियो । १९७४ मा पोर्चुगलबाट स्वतन्त्र भएको गिनी बिसाउ 'कू'हरूबाट आहत राष्ट्र हो । राष्ट्रपति भियरा पनि अन्य पूर्वनेताहरूझैं आफ्नो सत्ता टिकाइराख्नका लागि सेनामाथि नै अत्यन्त भर परेका थिए ।

No comments: