News

Mar 5, 2009

यौनशोषण गर्न खोज्ने कर्मचारीलाई प्रहरीमा बुझाए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जागिर लगाइदिने बहानामा दुई युवतीलाई यौनउत्तेजक औषधी खुवाएर यौनशोषण गर्न खोज्ने राष्ट्रिय वातावरण प्रदूषण नियन्त्रण केन्द्रका कर्मचारी सुन्दरकुमार आचार्यलाई बनेपावासी र युवतीका आफन्तले समातेर प्रहरीलाई बुझाएका छन् । पर्वत बाच्छा-५ का ४८ वर्षीय आचार्यलाई मंगलबार साँझ समातेर इलाका प्रहरी कार्यालय बनेपामा बुझाइएको हो ।उनी बनेपा-१० मा रहेको चन्डेश्वरी गेस्टहाउसनजिकैबाट पक्राउ परेका हुन् । आचार्यले काभ्रे श्यामपाटी घर भएका दुई युवतीलाई जागिरको विषयमा कुरा गर्ने भन्दै गेस्टहाउस बोलाएर यौनसम्पर्कको प्रस्ताव गरेका थिए । केही दिनअघि केन्द्रले कर्मचारी माग गरेको थियो । जागिरको खोजीमा रहेका ती युवतीले विज्ञापनमा उल्लेखित नम्बरमा फोन गर्दा आचार्यले बनेपामा पनि केन्द्रले कार्यक्रम गर्न लागेको र महिला कर्मचारी चाहिएको बताएपछि उनीहरू आचार्यको सम्पर्कमा आएका थिए । आचार्यले 'बनेपामा अफिस राखिसकेको छैन, होटलमा बसेर कुरा गरौं,' भन्दै बोलाएको ती युवतीको भनाइ उद्धृत गर्दै इप्रका बनेपाका प्रहरी निरीक्षक ऋषिकेश पाण्डेले बताए । पाण्डेका अनुसार आचार्यले उनीहरूलाई 'बिहे गरेको भए जागिर पाइँदैन, बिहे नगरेको भए आउनू' भनेर बोलाएका थिए । उनले फोनमा 'राम्रो लुगा लगाएर राम्री भएर आउनू' भनेको युवतीले प्रहरीलाई बताएका छन् । आचार्यको कुरामा शंका लागी ती युवतीले आफन्तलाई फोन गरेका थिए । युवतीहरूसँग यौनसम्पर्कको प्रस्ताव राखेपछि आचार्यलाई स्थानीय बासिन्दा र युवतीका आफन्त मिलेर पक्राउ गरी प्रहरीलाई बुझाएका हुन् । प्रहरीले आचार्यको साथबाट एउटा कन्डम र यौनउत्तेजना बढाउने 'सिल्डेनफिल क्रिएट' नामक औषधीसमेत फेला पारेको छ । यौनउत्तेजना बढाउने औषधीको आधा चक्की आचार्यले खाइसकेको प्रहरीले बताएको छ ।२० वर्षीया दुवै युवती बनेपामा क्याम्पस पढ्दै छन् । युवतीहरूलाई मंगलबार राति नै प्रहरीले आफन्तको जिम्मा लगाएर घर पठाएको छ । प्रहरीले आचार्यमाथि सार्वजनिक अपराधको मुद्दा चलाएको छ । बयानका क्रममा उनले केही 'ठूला' व्यक्तिलाई आफूले चिनेको भन्दै आरोपको प्रतिवाद गरेको इप्रक बनेपाका एक प्रहरीले बताए । आचार्यले भने आफूलाई जबर्जस्ती फसाउन खोजिएको आरोप लगाएका छन् । 'मैले केही गरेको छैन, मलाई फसाउन खोजियो,' आचार्यले नयाँ पत्रिकासँग भने । आफ्नो संस्थालाई जिल्लाका सभासद्द्वय सूर्यमान दोङ र अक्कलबहादुर थिङले बनेपामा प्रदूषण व्यवस्थापनका लागि सहयोग गर्न आग्रह गरेकाले बनेपामा कार्यक्रम गर्न लागेको उनको भनाइ छ ।

No comments: