News

Mar 6, 2009

चितवनको रत्ननगरमा झडप हुँदा एक प्रहरी सहित तीनको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चितवनको रत्ननगर नगरपालिकामा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा एक प्रहरी सहित तीन जनाको मृत्यु भएको छ । प्रदर्शनकारीले घरेलु हतियारले गरेको आक्रमणबाट सशस्त्र प्रहरी जवान कुमार बुढाथोकीको मृत्यु भएको हो । अर्का प्रहरी जवान प्रकाश केसी गम्भीर घाइते भएका छन् । कफर्यु उल्लंघन गरेर प्रर्दशनमा उत्रेका आन्दोलनकारीले रत्ननगर नगरपालिकाको सौराहा चोकमा तैनाथ सशस्त्र प्रहरी जवानलाइ शुक्रबार दिउँसो खुकुरी प्रहार गरेर हत्या गरेका छन । प्रदर्शनकारीले सशस्त्र प्रहरीको टोलीलाई पछाडीबाट लखेटदै समातेर खुकुरीले घांटीमा हानेका थिए । घाइते प्रहरी जवान केसीलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाण्डौ लगिएको छ । उनको पनि घांटीमा खुकरी हानिएको छ ।
यसअघि, बन्दको क्रममा बिहीबार राति भएको झडपमा प्रहरीले चलाएको गोलीले बछ्यौली गाविस-३ का १९ बर्षीय कमल चौधरी तथा घाइते विपिन क्षेत्रीको उपचारको क्रममा शुक्रबार मृत्यु भएको छ । प्रहरी चलाएको गोलिलागेर ५ जना घाइते भएका छन् भने करिब डेढ दर्जन प्रहरी घाइते भएका छन् । कफर्यु उल्लंघन गर्ने प्रदर्शनकारी र प्रहरी बीच अपरान्ह झडप भएको थियो । दिउँसो प्रहरीको मृत्यु भएपछि आक्रशित प्रहरीले ४० प्रदर्शनकारीलाई पक्राउ गरेको छ । स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय चितवनले रत्ननगर नगरपालिका र भण्डारा गाविसमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । शुक्रबार बिहान दस बजेदेखि अनिश्चितकालका लागि कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारी रत्नराज पाण्डेले बताए । गाउँ-गाउँबाट आन्दोलनकारी महेन्द्र राजमार्गमा आउने क्रम बढेपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यु लगाइएको जिल्ला प्रशासनले जनाएको छ ।प्रहरी उपरीक्षक ज्ञानविक्रम शाहले बिहीबार साँझ छ बजेदेखि राति तीन बजेसम्म प्रदर्शनकारीसँग भिडन्त भएको जनाए । हवाइ फायर, अश्रु ग्याँस र रबरको गोलीले पनि स्थिति नियन्त्रणमा नआएपछि कानुन बमोजिम कारबाही गरेको उनले दाबी गरे । गम्भीर घाइते दुई जनालाई थप उपचारार्थ काठमाण्डौ रिफर गरिएको छ । भरतपुर मेडिकल कलेजमा उपचार भैरहेका गोपाल चौधरी र संजित चौधरीलाई काठमाडौं लगिएको हो । घाइते सन्तोषी श्रेष्ठ, सरद श्रेष्ठ र रविन्द्र चौधरीको जिल्ला अस्पतालमा उपचार भैरहेको छ ।
आन्दोलनकारीको माग बमोजिम बिहीबार राति पक्राउ परेका नौ जनालाई प्रहरीले छाडेको छ । चितवन क्षेत्र नम्बर-१ का एमाले सभासद् लालमणि चौधरीको नेतृत्वमा आएको आन्दोलनकारीको समूहले बिहान स्थानीय प्रशासन र प्रहरी प्रमुख समक्ष विभिन्न पाँच सुत्रिय माग राखेको छ । मागमा पक्राउ परेका कार्यकर्ताको रिहाई, मृतकलाई सहिद घोषणा, घाइतेको उपचार र क्षतिपुर्ति लगायतका छन् । उनीहरूले शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको आरोप लगाएका छन् । त्यस्तै, सरकारले वार्ताका लागि गरेको आग्रह अस्वीकार गदै थरूहट संयूक्त संघर्ष समितिले आन्दोलनलाई निरन्तरता दिएको छ । समितिले थारूहरूलाई मधेसीमा सूचिकृत गर्ने अध्यादेश नसच्याएसम्म आन्दोलन जारी राख्ने बताएको छ । सरकारले बिहीबार एक विज्ञप्ती जारी गरी आन्दोलनरत थारू समूदायलाई वार्तामा आउन आव्हान गरेको थियो । आन्दोलनकारीहरूले शुक्रबार बिहानैदेखि तराईका विभिन्न जिल्लाहरूमा प्रदर्शन शुरु गरेका छन् । राजमार्गमा सवारी चल्न सकेका छैनन् । बजार पसल, कलकारखाना, शैक्षिकसंस्था समेत ठप्प छन् ।
बन्दका कारण पाँच दिनदेखि राजमार्गमा अलपत्र परेका यात्रुहरूले शुक्रबार बिहानबाट दाङको भालुवाङ सशस्त्र प्रहरी चौकी घेराउ गरिरहेका छन् । उनीहरूले सुरक्षासहित गन्तव्यमा पुर्‍याउने व्यवस्था मिलाउन माग गर्दै चौकीमा धर्ना दिएका हुन् । उता रौतहटको चन्द्रनिगाहपुरमा थारू युवाले बिहानै देखि लाठीसहित प्रदर्शनमा उत्रेपछि पश्चिमबाट गएका सयौं सवारी साधनलाई प्रहरीले पूर्व-पश्चिम राजमार्गको चन्द्रनिगाहपुर-धन्सार खण्डमा रोकेर राखेको छ । जंगल क्षेत्रमा सवारी साधन रोकिएपछि यात्रुहरू अलपत्र परेका छन् ।

No comments: