News

Mar 10, 2009

तिब्बती छिर्ने आशंकाले नाकामा कडाइ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तिब्बती धार्मिक नेता दलाई लामा निर्वासनको ५० वर्ष पुगेको अवसरमा हुन सक्ने प्रदर्शन र अन्य गतिविधिलाई ध्यानमा राखेर तातोपानी नाकाको सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ । मार्च १० तारिख, मंगलबार दलाई लामा निर्वासनको ५० वर्ष पुग्दै छ । लामा समर्थकले स्वतन्त्र तिब्बतको माग गर्दै आएका छन् । सीमा क्षेत्रमा प्रदर्शनसहित ध्वंस मच्चाउन सक्ने आशंकामा सुरक्षा कडा तुल्याइएको हो । अरनिको राजमार्ग हुँदै तातोपानी नाका भएर तिब्बती छिर्ने आशंकामा चिनियाँ पक्षले केही महिनाअघि पहिलोपटक सीमाको आपनै भूमिमा ठूलो संख्याका सैनिक उतारेको छ । नेपाली पक्षले भने चिनियाँको आग्रहमा यसै साताबाट सुरक्षा व्यवस्था कडा पारेको हो । तातोपानी नाकाबाट पर्यटकलाई समेत आवागमनमा रोक लगाइएको छ । तिब्बती छिर्ने सम्भावित स्थानमा नेपाल प्रहरीले उच्च सतर्कता अपनाएको छ भने अरनिको राजमार्गमा सवारीसाधन चेकजाँच बाक्लो बनाइएको छ । राजमार्गको बन्देउमा सोमबार मात्र अस्थायी प्रहरी युनिट खडा गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नाका-काठमाडांै ओहोर-दोहोर गर्ने सबैखाले सवारीसाधन रोकेर प्रहरीले खानतलासी लिन थालेको छ । बन्देउ, बलेफी, लामोसाँघु, बाह्रबीसे, लार्चामा जनपद र तातोपानीमा सशस्त्र प्रहरी तैनाथ छन् । नाका र राजमार्गको सुरक्षा व्यवस्था कडा पार्न प्रहरी प्रमुख डिएसपी प्रमोदकुमार खरेल आइतबारदेखि नै त्यस क्षेत्रमा खटिएका छन् । तिब्बती प्रवेश गर्ने र विभिन्न गतिविधि हुने आशंकामा सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी भानुभक्त पोखरेलले नयाँ पत्रिकालाई बताए । 'स्थानीय प्रशासनको तर्फबाट उच्च सुरक्षा सतर्कता अपनाएका छौँ,' उनले भने । सुरक्षा व्यवस्थालाई कडा बनाउने विषयमा चिनियाँ र नेपाली सुरक्षा अधिकारीबीच शुक्रबार सिन्धुपाल्चोक सदरमुकाममा बैठकसमेत बसेको थियो । बैठकलगत्तै दुवैतर्फबाट खासा र तातोपानी नाकामा सुरक्षा व्यवस्था थप मजबुत पारिएको हो । स्रोतका अनुसार बैठकमा चिनियाँ अधिकारीले नेपाली अधिकारीसँग लामाका समर्थकले ध्वंसात्मक गतिविधि गर्ने सूचना आफूहरूले पाएकाले सुरक्षा मजबुत बनाउन आग्रह गरेका थिए । 'चिनियाँ अधिकारीले तिब्बती पक्राउ परे आफूहरूलाई बुझाउन आग्रह गरेका थिए,' स्रोतले भन्यो, 'तर नेपाली अधिकारीले त्यो स्वीकार गरेनन् ।' विगत एक महिनामा तिब्बत छिर्न लागेका दर्जनौँ तिब्बतीलाई प्रहरीले पक्राउ गरी राजधानीमै फिर्ता पठाएको थियो ।

No comments: