News

Mar 12, 2009

उपनिर्वाचनका लागि उम्मेदवार घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली कांग्रेसले संविधानसभा उपनिर्वाचनका लागि ६ स्थानमा नै आफ्ना उम्मेदवार घोषणा गरेको छ।कांग्रेस संसदीय बोर्डको बुधबारको बैठकले राष्ट्रपति डा. रामवरण यादवका पुत्र डा.चन्द्रमोहन यादवलाई समेत राष्ट्रपतिले राजीनामा गरेको धनुषा क्षेत्र नं ५ बाट उम्मेदवार बनाउने निर्णय गरेको छ।सन् १९९४ देखि वीर अस्पतालमा कार्यरत चिकित्सक यादवलाई उम्मेदवार बनाउने निर्णय कांग्रेसले गरेपछि यादवले वीर अस्पतालबाट बुधबार नै राजीनामा गरेका थिए। कांग्रेसले मोरङ- ५ बाट जगान्नाथ सिंह गनगाई र मोरङ- ७ बाट डा. शेखर कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। डा. कोइराला यसअघिको संविधानसभा निर्वार्चनमा सोही क्षेत्रबाट पराजित भएका थिए भने उम्मेदवार गनगाई मोरङ कांग्रेसमा उपसभापति भइसकेका छन्। कांग्रेस सभापतिका भतिजा रहेका शेखर पनि राजनीतिमा आउनुअगाडि चिकित्सक थिए।यसैगरी कास्की- १ बाट दीपक गुरुङ, रोल्पा- २ मा गंगाराम डाँगी र कञ्चनपुर- ४ मा यज्ञराज जोशीलाई उम्मेदवार बनाउने निर्णय कांग्रेसले गरेको छ। रोल्पाबाट भीमकुमारी बुढालाई उठाउने विषयमा व्यापक छलफल भए पनि अन्ततः डाँगीलाई उम्मेदवार बनाइएको थियो। नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले भने उम्मेदवारमा महिला पर्न नसकेको र आफूले भनेका मानिसहरूलाई उम्मेदवार नबनाइएको भन्दै असन्तुष्टि जनाउनुभएको बताइएको छ।यसैगरी तर्राई मधेस लोकतान्त्रिक पार्टी धनुषा- ५ मा पार्टी कोषाध्यक्ष श्रीकृष्ण यादव, मोरङ- ५ मा उमेश गिरी र मोरङ- ७ मा हरिनारायण शाहलाई उम्मेदवार बनाउने तथा कास्की, कञ्चनपुर र रोल्पामा भने उम्मेद्वार नउठाउने निर्णय गरेको छ। मोरङ- ५ का उम्मेदवार गिरी भने नेपाली कांग्रेसका पूर्वकार्यकर्ता हुन्।माओवादीको मंगलबार बसेको सचिवालय बैठकले रोल्पा- २ मा सन्तोष बुढामगर, मोरङ- ५ मा विजय चौधरी, मोरङ- ७ मा शिव मण्डल र कास्की - १ मा कृष्ण गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो भने धनुषा र कञ्चनपुरमा निर्णय गर्न बाँकी रहेको छ।

No comments: