News

Mar 7, 2009

सीमा सुरक्षा कडा बनाउन चीनको आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तिब्बती धार्मिक नेता दलाई लामा निर्वासित भएको ५० वर्ष पुग्ने पूर्वसन्ध्यामा स्थानीय चिनियाँ सरकारी अधिकारीले तातोपानी नाकाको सुरक्षा कडा बनाउन नेपाल समक्ष आग्रह गरेका छन् । खासा प्रशासनसँग सम्बद्ध सरकारी अधिकारी र नेपालको सीमा क्षेत्र सिन्धुपाल्चोकका स्थानीय अधिकारीबीच शनिबार चौतारामा भएको संयुक्त बैठकमा उनीहरुले स्वतन्त्र तिब्बतको पक्षमा प्रदर्शन हुने सूचनाका आधारमा नेपालसँग यस्तो आग्रह गरेका हुन् । आगामी २७ गते अर्थात मार्च १० मा दलाई लामा निर्वासित भएको ५० वर्ष पुग्दै छ । स्वतन्त्र तिब्बतको पक्षधर तिब्बतीहरुले मितेरी पुल र आसपासका क्षेत्रमा प्रदर्शन गर्ने र भौतिक आक्रमणसमेत हुनसक्ने सूचनाका आधारमा खासा प्रशासनका अध्यागमन प्रमुख पेन उभलको नेतृत्वमा आएको नौ जनाको टोलीले नेपाली पक्षलाई निगरानी बढाउन जोड दिएको हो ।सिन्धुपालचोक प्रशासनले फागुन २६ र २७ गते तातोपानी नाका सिल गर्ने जानकारी दिएको छ । त्यसका लागि प्रहरी नायव उपरीक्षक प्रमोद खरेलको नेतृत्वमा विशेष सुरक्षा टोली सीमा क्षेत्रमा तैनाथ गरिने भएको छ ।
चिनियाँ पक्षको अनुरोधलाई ध्यानमा राखेर नाका सिल गर्न लागिएको प्रमुख जिल्ला अधिकारी भानुभक्त पोखरेलले जानकारी दिए । प्रजिअ पोखरेल, सहायक प्रजिअ गोविन्द सापकोटा, प्रनाउ खरेल, कोदारी अध्यागमनका प्रमुख विजय पौड्याल तथा तातोपानी नाकाका सुरक्षा अधिकारीहरु उपस्थित बैठकमा चिनियाँ पक्षले पटक/पटक सुरक्षाका विषय उठाएका थिए । चिनियाँ टोलीमा खासाका सुरक्षा अधिकारी, विदेश विभाग र अध्यागमनका प्रतिनिधिको सहभागीता थियो ।

No comments: