News

Mar 12, 2009

सर्वोच्चको आदेश अवज्ञा गर्दै माओवादीले नयाँ भर्ती सुरू

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सर्वोच्च अदालतको आदेश अवज्ञा गर्दै माओवादीले जनसेनाको सातौं डिभिजनमा नयाँ भर्ती सुरू गरेको छ । कैलालीको तालबन्दस्थित सातौं डिभिजनमा बुधबारदेखि सैन्यभर्तीका लागि आवेदन बुझाउने कार्य सुरु गरिएको हो । सातौं डिभिजनअन्तर्गत कैलालीको मसुरियामा रहेको लिस्नेगाम बि्रगेडमा बुधबार विभिन्न पदका लागि निवेदन दिनेको घुइँचो लागेको छ । दस दिनदेखि थरुहट बन्दका कारण सवारीसाधन नचले पनि पैदल, साइकल, रिक्सा र मोटरसाइकलमा ठूलो संख्यामा आवेदन दिनेहरू मसुरिया ओइरिएका छन् । जनसेनाको सातौं डिभिजनले अदालत तथा सेना समायोजनसम्बन्धी विशेष समितिको आदेश अवज्ञा गर्दै अघिल्लो साता भर्नाका लागि सार्वजनिक सूचना प्रकाशित गरेको थियो । नयाँ भर्नाका लागि आवेदन भर्ने मिति १५ चैतसम्म तोकिएको छ । सातौं डिभिजनले पाँच कम्पनीका लागि सहायक कमान्डर, ११ प्लाटुन कमान्डर, १३ प्लाटुन सहकमान्डर, ३१ सेक्सन कमान्डर, ३६ सेक्सन सहकमान्डर, ४५ एफजिएल र एक हजार सात सय ६५ जवान गरी एक हजार नौ सय ६ जनाका लागि भर्ना खोलेको सातौं डिभिजनल तालबन्दका सहकमान्डर जीवनबहादुर बुढाले नयाँ पत्रिकालाई बताए ।सहकमान्डर बुढाका अनुसार जनसेनामा भर्ना हुन बाजुरा, कञ्चनपुर, अछाम, बझाङ, डडेल्धुरासहितका जिल्लाबाट उल्लेख्य संख्यामा युवायुवती मसुरिया आइपुगेका छन् । बेरोजगारीका कारण आफूहरू माओवादी सेनामा भर्ना हुन आएको अधिकांश युवायुवतीले बताएका छन् । माओवादी सेनामा भर्ना भएर आफ्नो भविष्य सुरक्षित हुने दाबी गरेकी छिन् आवेदन दिन आएकी जानकी धामीले ।माओवादी सेनामा भर्ना हुन आएकाहरू अधिकांश १६ देखि २५ वर्ष उमेरका युवायुवती छन् । जनसेनामा भर्ना हुन आउनेमा कुनै वेला माओवादीमा आबद्ध रहेका तथा वाइसिएल कार्यकर्ता पनि छन् ।जनसेनाका सातौं डिभिजन कमान्डर महेन्द्रबहादुर शाही प्रज्ज्वलले अदालतको आदेश मान्न आफूहरू बाध्य नभएको दाबी गरे । उनले भने, 'नेपाली सेनाले रोकेमात्र जनसेना भर्ती पनि रोक्छौँ ।' केन्द्रतहबाटै जनमुक्ति सेनाको भर्ती रोक्ने निर्णय भए पनि सातौँ डिभिजनमा किन सैन्य भर्ती भएको भन्ने नयाँ पत्रिकाको प्रश्नमा कमान्डर प्रज्ज्वलले भने आफूलाई हेडक्वाटरबाट कुनै जानकारी नआएको बताए ।

No comments: