News

Mar 12, 2009

सभासद्को टोलीलाई माओवादीले ढुंगा प्रहार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधान निर्माणका लागि जनताको राय-सुझाव संकलन गर्न लमजुङ आएको सभासद्को टोलीलाई माओवादी कार्यकर्ताले ढुंगा प्रहार गरेका छन् । जिल्लाका १४ वटा केन्द्रमा सुझाव संकलन सकी बुधबार सदरमुकाम बेसीसहरमा सुझाव संकलनका लागि सहभागी १९ नम्बरको सभासद् टोलीलाई ढुंगा हानिएको हो ।युथफोर्स र वाइसिएलबीच मंगलबार भएको झडपमा वाइसिएल कार्यकर्ता घाइते भएपछि निकालिएको विरोध जुलुसमा सहभागी कार्यकर्ताले सभासद्को टोलीमाथि ढुंगामुढा हानेका थिए । एमाले सभासद् पृथ्वी सुब्बा गुरुङलाई लक्षित गरी ढुंगा प्रहार गरिएको र एमाले सभासद्लाई अपशब्द प्रयोग गरी गालीगलौजसमेत गरेको सभासद् डिबी कार्कीले बताए । ढुंगा टिनको छानोमा लागेको र सभासद्हरू जोगिएको उनले बताए ।भोटेओडार बजारमा वाइसिएल कार्यकर्ताको आक्रमणबाट मंगलबार युथफोर्सका सहसंयोजक गोविन्द बस्नेत घाइते भएका थिए । घाइते बस्नेतले बेसीसहर आई माओवादीका हरि दनाई, शम्भुलाल श्रेष्ठ, ठाकुर पौडेल र क्रान्तिकारी पत्रकार संघका संयोजक वासुदेव थापालाई निर्घात कुटपिट गरी घाइते बनाएका थिए ।घटनाको विरोधमा बुधबार माओवादीले बेसीसहर बजारमा नाराबाजीसहित र्‍याली प्रदर्शन गरेको थियो । बजार परिक्रमा गरी आक्रोशित भीडले जिल्ला प्रशासन कार्यालय परिसरमा प्रवेश गरी प्रमुख जिल्ला अधिकारी, एमाले र युथफोर्सका विरुद्धमा नाराबाजी गर्दै दोषीलाई कारबाही गर्न माग गरेको थियो । प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले दोषीलाई पक्राउ गरी कारबाही गर्ने र घटनाका विषयमा छानबिन गर्ने प्रतिबद्धता व्यक्त गरेपछि माओवादी कार्यकर्ता बाहिरिएका थिए ।

No comments: