News

Mar 4, 2009

माओवादी भर्ती प्रक्रिया औपचारिक रुपमा सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादी तेश्रो डिभिजन मुख्यालयले बुधबारदेखि औपचारिक रुपमा जनसेना भर्ती प्रक्रिया सुरु गरेको छ । जनसेना भर्तीको लागि मुख्यालयले मुख्यद्वार बाहिर सूचना टासी योग्यता पुगेका नेपाली नागरिकलाई दरखास्त दिन आव्हान गरेका छन् । जनसेनाले भर्ती प्रक्रिया सुरु गरेपछि पनि फाराम लिन अहिलेसम्म कोही शिविरस्थल पुगेका छैनन् । नेपाली सेनाले शान्ति सम्झौता विपरीत ३ हजार सैनिक भर्ना गरेकोले आफूहरुले पनि जनसेना भर्ती गर्न पाउने तेश्रो डिभिजनका प्रवक्ता अविरलले बताए । उनले नेपाली सेनाले भर्ना गर्दा शान्ति प्रक्रिया विपरीत नहुने तर माओवादी सेनाले दरबन्दी कायम गर्दा शान्ति सम्झौता विपरीत हुने भन्ने बिचार आफूहरुलाई अमान्य भएको बताए । जनसेना भर्ती मुख्यालयका प्रचारप्रसार बिभाग प्रमुख 'रुपक'ले दुवै सेना राष्ट्रकै भएपनि एउटालाई काखा र अर्कालाई पाखा गर्ने काम गरेको आरोप लगाए । मुख्य गेट बाहिर टांसिएको सूचनामा आवेदन र्फमको नमुना समेत राखिएको छ । नमुना फारममा १८ वर्ष उमेर पुगेका, स्वस्थ्य, जुझारु र बलिदानीको भावना भएकाहरुले आवेदन दिनसक्ने जनाइएको छ । उक्त फारममा नाम, थर, उमेर, पद, लिंग, नागरिकता नम्बर सबै उल्लेख गर्नु पर्ने नमुना प्रस्तुत गरिएको छ । सूचनासँगै जनसेना प्रमुख नन्दकिशोर पुनको हस्ताक्षरित अर्को विज्ञप्ती पनि टांस गरिएको छ । तेश्रो डिभिजनले पाँच रुपैंयाँको टिकट टासी ईच्छुक व्यक्तिले आवेदन दिन सक्ने जनाएको छ ।

No comments: