News

Mar 7, 2009

गिरिजाको बृहत् लोकतान्त्रिक मोर्चा बनाउने सहमति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाबीच बृहत् लोकतान्त्रिक मोर्चा बनाउने सहमति भएको छ ।कोइरालानिवास महाराजगन्जमा शुक्रबार भएको ४५ मिनेट लामो भेटघाटमा तत्काल मोर्चा बनाउने सहमति भएको हो । मोर्चामा माओवादीबाहेकका राजनीतिक दलहरू समेटिने बताइएको छ ।स्रोतका अनुसार राजपा अध्यक्ष थापाले कोइरालालाई मोर्चाको नेतृत्व गर्न प्रस्ताव गरेका थिए । प्रस्तावलाई स्वीकार गर्दै कोइरालाले संविधानसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूसँग शनिबारदेखि नै छलफल थाल्ने बताए । कोइरालाले सरकारमा सहभागी एमालेलाई पनि मोर्चामा सहभागी गराएर अघि बढ्नुपर्ने राय प्र्रस्तुत गरेका थिए । अन्य राजनीतिक दलहरूसँगको छलफलपछि मोर्चाको स्वरूप र मिति निर्धारण गर्ने सहमति भएको राजपाका केन्द्रीय सदस्य किरण गिरीले जानकारी दिए । माओवादी अधिनायकवादविरुद्ध लोकतान्त्रिक मान्यताका पक्षपाति सबैलाई समेटेर लैजान दुवै नेताहरू सहमत भएको उनले बताए । दुद्दवै नेताहरूलाई उद्धृत गर्दै उनले भने, 'लोकतान्त्रिक मूल्य मान्यतामा विश्वास गर्ने सबै राजनीतिक दलहरूलाई मोर्चामा समेट्न सके राम्रो हुन्छ ।'लोकतान्त्रिक र्मोचा बनाउन अब पनि ढिला गरिए मुलुकमा एकदलीय अधिनायकवादी शासन हावी हुने भन्दै संवाद र सहमतिको राजनीतिलाई माओवादीले छोडेको आरोप कोइरालाले लगाएका थिए । माओवादी नेतृत्वको रवैयाबाट सरकार मुक्त हुन नसके मुलुकमा ठूलो दुर्घटना हुने विश्लेषण दुवै नेताले गरेका थिए । माओवादीले आफ्नो सेनामा भर्ना सुरु गरेकामा दुवै नेताहरूले रोष प्रकट गरेका छन् । सेनाको भर्ना विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको भन्दै सो विषयमा सार्वजनिक रूपमा कुनै टीकाटिप्पणी नगर्ने सहमति पनि उनीहरूबीच भएको स्रोतले बतायो ।

No comments: