News

Apr 10, 2009

अमेरिकी दूतावासविरुद्ध सिंहदरबार गेटमा प्रदर्शन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अमेरिकी दूतावासको गाडीको ठक्करबाट गम्भीर घाइते भएका सन्नी नकर्मीका आफन्तले बिहीबार सिंहदरबारमा धर्ना दिएका छन् । सन्नी एक महिनादेखि कोमामा छन् भने दूतावासले क्षतिपूर्ति र उपचार खर्च दिन अस्वीकार गर्दै आएको छ । एस म्यानेजमेन्ट कलेजमा अध्ययनरत २० वर्षीय सन्नीलाई २६ फागुनमा दूतावासको गाडीले हात्तीसारमा ठक्कर दिएको थयो । ठक्कर दिने दूतावासकै कूटनीतिज्ञ जेनेफर एल सरे तत्काल भागेकी थिइन् । तर घटनाका प्रत्यक्षदर्शी इन्स्पेक्टर वामदेव गौतमको निर्देशकमा गाडी दरबारमार्गमा पक्राउ परेको थियो । क्षतिपूर्ति र उपचार गर्न दिने सहमतिमा ट्राफिक प्रहरी महाशाखाले अर्को दिन गाडी छाडेको थियो । तर गाडी छुटेपछि दूतावासले कुनै पनि खर्च दिएको छैन । नयाँ पत्रिकाले गत साता समाचार प्रकाशित गरेपछि दूतावासले विज्ञप्ति निकालेर भनेको थियो, 'हामी घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्छौं ।'स्वास्थ्यलाभको कामना गर्ने तर उपचार खर्च नदिने दूतावासको मिचाहा प्रवृत्तिको विरोधमा भन्दै घाइतेका आफन्तले बिहीबार सिंहदरबार गेटमा धर्ना दिएका हुन् । उनीहरूले उपचार तथा क्षतिपूर्ति दिलाउन र कानुन उल्लंघन गर्नेलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् । ठक्कर दिएर भाग्ने दूतावासका कर्मचारीलाई कानुनी दायरामा ल्याउन नकर्मीका आफन्तले सरकारसँग माग गरेका छन् । सोर्‍हखुट्टेबाट घर फर्कंदै गरेका नकर्मीलाई करिब साढे नौ बजे ६१ सिडी २५ नम्बरको गाडीले हात्तीसारमा ठक्कर दिएको उनका आफन्त केशव खत्रीले बताए । घाइते नकर्मीको ब्लुक्रस नर्सिङहोममा उपचार भइरहेको छ । उनको होस खुलेको छैन ।

No comments: