News

Apr 4, 2009

राष्ट्र बैंकमा ठूला नोट अभाव पैसा घरमा राख्दा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल राष्ट्र बैंकका गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले बैंकबाट झिकिएका ठूला दरका नोट फिर्ता नभएकाले बजारमा पाँच सय र एक हजार रुपैयाँका नोट अभाव देखिएको बताएका छन् ।पोखरामा शुक्रबार कास्की फाइनान्सको हिलो शाखा उद्घाटन गर्दै गभर्नर क्षेत्रीले सो कुरा बताएका हुन् । 'सरकारले स्वयं कर घोषणा समय सकिएपछि कारबाही गर्छ भन्ने त्रासले केही व्यक्तिले बैंकमा भएको पैसा घरमा लगेर राखेकाले बजारमा ठूला नोट समस्या देखिएको हो,' उनले भने । गभर्नरले ठूला दरका नोट छापिएर नआएसम्म बजारमा अभाव हुने र छापिएर आउन ४/५ महिना लाग्ने बताए । उनले निजी क्षेत्रसँग रहेको रकम बाहिर ल्याउन आग्रह गरे । 'दराज र सिरानीमुनि राखेको पैसा सुरक्षित नहुन सक्छ,' त्यसकारण सो पैसा ढुक्कसँग लगानी गरे हुन्छ ।' राष्ट्र बैंकले कसैको पैसा जफत गर्दैन भने सरकारी नीतिभन्दा बाहिर गएर पनि निर्णय नगर्ने गभर्नरले स्पष्ट पारे ।उनले राजनीतिक वा सामाजिक आडमा वित्तीय क्षेत्रमा बसेर गलत काम गर्नेलाई कुनै छुट नदिइने बताए । ऋण नतिर्नेलाई समाजले सम्मान गरिरहेको बताउँदै क्षेत्रीले क्षणिक लाभ लिन अनुचित काम गर्नेलाई दण्डित गर्नुपर्नेमा जोड दिए ।'गलत काम गर्नेलाई बैंक सञ्चालक भए पनि छाडिँदैन,' गभर्नरले भने, 'केही वित्तीय क्षेत्रमा अनुचित काम भइरहेको उजुरी आएको छ, नयाँ कुरा आए कारबाही थालिनेछ ।' सरकारको आर्थिक सल्लाहकार समेत रहेको नेपाल राष्ट्र बैंकका गभर्नर क्षेत्रीले सरकार वा राष्ट्र बैंकले अनावश्यक दुःख दिन्छ भन्ने त्रास नदेख्न व्यवसायीलाई आग्रह गरे । उनले सरकार वा राष्ट्र बैंकले गलत गरेजस्तो लागे न्याय माग्न जाने निकाय अरु पनि भएको बताए । ०६४ साउनदेखि कारोबार सुरु गरेको कास्की फाइनान्सले हालसम्म ६५ करोड निक्षेप र ५४ करोड रुपैयाँ कर्जा लगानी गरेको संस्थाका प्रबन्ध सञ्चालक श्यामकुमार शर्माले जानकारी दिए । हाल अधिकृत पुँजी ४० करोड जारी पुँजी १५ करोड र चुक्ता पुँजी ५ करोड रहेको सहकारीले सेयरधनीलाई १:२ बराबरको हकप्रद सेयर दिने बताएको छ ।

No comments: