News

Apr 4, 2009

सजाय भोग्ने फरार भएपछि १९ सय कैद बक्यौता बाँकी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सजाय भोग्नुपर्ने व्यक्ति फरार भएपछि जिल्ला अदालत बाँकेमा करिब १९ सय कैद बक्यौता छ । कैद बक्यौता हुँदा मुद्दाको अन्तिम टुंगो लाग्न नसकेको जिल्ला न्यायाधीश रामेश्वरनाथ अमात्यले बताए । बाँके अदालतका अनुसार एक हजार आठ सय ५३ वर्ष १२ दिनको कैद बक्यौता छ । फौजदारी मुद्दा पुर्पक्ष गर्ने क्रममा सादा तारेखमा छाडिएका, तर अपराध प्रमाणित भएपछि कैद भोग्नुपर्ने व्यक्ति फरार भएका कारण कैद बक्यौता भएको अदालतले जनाएको छ । चोरी, डाँका, कर्तव्य ज्यान, ज्यानमार्ने उद्योग, आगजनी, खुन डाँकालगायतका मुद्दाको कैद बक्यौता रहेको अदालतले जनाएको छ । कतिपय मुद्दामा सुरुदेखि नै अपराधी फरार छन् । सबैको सहयोग भएमा कैद उठ्न सक्ने बताउँदै न्यायाधीश अमात्यले भने, 'अपराधीलाई सजाय दिलाउनु समाजको पनि कर्तव्य हो ।' जिल्ला अदालतका उपसचिव डिल्लीरत्न श्रेष्ठले कैद सजाय पाएका व्यक्तिलाई पक्राउ गर्नेलाई पुरस्कार दिने घोषणा गरेको बताए । श्रेष्ठका अनुसार कैद सजाय सुनाइएका अपराधीलाई पक्राउ गरेर बुझाएमा कैद समयको प्रतिमहिना ५० रुपैयाँ पुरस्कार दिइनेछ । दोषीलाई पक्राउ गर्ने जनशक्ति अभावमा पुरस्कार घोषणा गरिएको बताउँदै उनले भने, 'हामीसँग अपराधीलाई पक्राउ गर्नका लागि सुरक्षाकर्मी छैनन् । प्रहरीलाई अनुरोध गर्दा पनि कैद लगत उठ्न सकेन । त्यसैले पुरस्कार दिने निर्णय गरेका हौँ ।' अदालतबाट कैद सुनाएका व्यक्तिलाई दण्ड दिन नसकेमा दण्डहीनता बढ्ने पनि उपसचिव श्रेष्ठले बताए । समाजबाट अपराध हटाउन सर्वसाधारणको सहयोग मागिएको उल्लेख गर्दै उनले थपे, 'अपराधीलाई कारबाही गराउनु सबैको दायित्व हो ।' यसैगरी, जरिवाना र राजस्व गरी करिब तीन करोड २० लाख ८७ हजार पनि उठ्न बाँकी रहेको जिल्ला अदालतले जनाएको छ । जरिवाना रकम उठाउन सहयोग गर्ने व्यक्ति वा संस्थालाई २० प्रतिशत रकम दिने अदालतले जनाएको छ । जरिवाना तिर्नुपर्ने व्यक्ति स्वयं उपस्थित भएर जरिवाना बुझाए केही छुट दिने पनि अदालतले व्यवस्था मिलाएको छ ।

No comments: