News

Apr 5, 2009

पाँच उपसमितिद्वारा संबैधानिक समितिमा प्रतिवेदन प्रस्तुत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संवैधानिक समिति अन्तर्गतका पाँचवटा उपसमितिले आइतबार आफ्नो प्रतिवेदन बुझाएका छन् ।समितिले प्रस्तावना, संकटकाल, राजनीतिक दल, संविधान संशोधन र नामबारे नयाँ संविधानमा गर्नुपर्ने व्यवस्थाको प्रस्ताव गर्न पाँचवटा उपसमिति गठन गरेको थियो ।प्रस्तावना सम्बन्धी उपसमितिले अहिलेसम्म भएका आन्दोलन प्रतिविम्वित हुनेगरी प्रस्तावना लेखिनुपर्ने सुझाव दिएको छ । उसले प्रस्तावना न्यायोचित र राजनीतिक हुनुपर्ने धारणा राखेको छ ।यस्तै संविधान संशोधन सम्बन्धी उपसमितिले महत्वपूर्ण मुद्धामा जनमत संग्रहको व्यवस्था गरिनुपर्ने भन्दै संघीय बिधायीकाको तीन तिहाइ बहुमतबाटमात्र संविधान संशोधन गर्नुपर्ने प्रस्ताव गरेको छ ।उसले मौलिक अधिकारलाई संशोधन गर्न नपाइने व्यवस्था हुनुपर्ने सुझाव दिएको छ । यसैगरी संकटकालीन अवस्था सम्बन्धी उपसमितिले संकटकाल घोषणा गर्दा लोकतन्त्र संकटमा पर्नसक्ने भन्दै त्यसतर्फ सचेत रहनुपर्ने बताएको छ ।राजनीतिक दल सम्बन्धी उपसमितिले दलहरुलाई प्रतिबन्ध लगाउन नपाइने कुरा निश्चित गरिनुपर्ने सुझाव दिएको छ ।निश्चित परिधिभित्र रहि सबैलाई दल वा संगठन खोल्ने स्वतन्त्रता हुनुपर्ने उपसमितिको प्रतिवेदनमा उल्लेख छ ।उपसमितिले दलहरुबीचको छलफल र सहमतिको आधारमा संविधानको नाम लेखिनुपर्ने सुझाव दिएको छ । राज्य र राष्ट्रको परिभाषा स्पष्ट हुनुपर्ने भन्दै राष्ट्रिय गान, राष्ट्रिय झण्डा र राष्ट्रिय प्रतिकको टुंगो लगाउनुपर्ने उपसमितिको प्रतिवेदनमा उल्लेख छ ।यसैबीच समितिका सभापति माधवकुमार नेपालले चैत्र २६ गतेभित्र सम्पूर्ण सभासद्लाई प्रतिवेदन वितरण गर्न संविधानसभा सचिवालयलाई निर्देशन दिएका छन् । समितिको आगामी ३० गते बस्ने अर्को बैठकले समन्वय उपसमिति र मस्यौदा उपसमिति गठन गर्नुपर्ने उनले बताए ।

No comments: