News

Apr 5, 2009

काठमाडौंमा १० व्यस्त स्थानमा आयो मोबाइल घुम्ती शौचालय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
'यो राजधानीको वातावरणीय सरसफाइका लागि अत्यन्तै महत्त्वपूण कदम हो’, वातावरण विज्ञान तथा प्रविधिमन्त्री गणेश शाह आइतबार भन्दै थिए- ’ढिलै भए पनि वातावरण संरक्षणका लागि नयाँ पाइला चाल्नुभएछ।’ प्रसंग थियो निजी सार्वजनिक साझेदारी अवधारणाअर्न्तर्गत काठमाडौं महानगरपालिका र काठमाडौं महानगर सोलिड वेस्ट म्यानेजमेन्ट सर्भिसले संयुक्त रूपमा तयार गरेको घुम्ती शौचालय (मोबाइल ट्वाइलेट) उद्घाटनको। सो शौचालय आइतबारदेखि राजधानीको टुँडिखेलमा सञ्चालनमा आएको छ।’खानेपानी र सरसफाइको मुद्दालाई अब बन्ने नयाँ संविधानमा मौलिक हकका रूपमा व्यवस्था गर्नुपर्छ’, मन्त्री शाहले भने- ’काठमाडौंमा मात्र नभएर वातावरणीय समस्याले मुलुकलाई नै असर गरेको छ।’सार्वजनिक शौचालयको अभावमा काठमाडौंको जनजीवन कष्टकर बन्दै गएको अवस्थामा निर्मित घुम्ती शौचालयमा दिसा र पिसाबलाई छुट्टाछुटै भण्डारण गर्ने व्यवस्था गरिएको छ। सोलिड वेस्ट म्यानेजमेन्ट सर्भिसका निर्देशक वासु उप्रेतीले भण्डारण गरिएको दिसाबाट बायोग्यास निकाल्ने र पिसाबलाई जैविक मलका रूपमा प्रयोग गर्ने आफूहरूको योजना रहेको जानकारी दिए।’यो नमुना वातावरणीय सरसफाइको दृष्टिकोणले मात्र नभएर जनचेतना जगाउनका लागि पनि उपयोगी माध्यम बन्न सक्छ’, घुम्ती शौचालयको अवलोकनपछि वातावरणविद् भूषण तुलाधरले भने- ’यसलाई निजी र्सार्वजनिक साझेदारीको अवधारणाको उत्कृष्ट मोडेलका रूपमा लिन सकिन्छ।’काठमाडौंभित्रका वसन्तपुर, बबरमहल, कोटेश्वरलगायतका १० व्यस्त स्थानमा घुम्ती शौचालय निर्माण गर्न र्सर्भिसलाई जिम्मा दिएको काठमाडौं महानगरपालिकाका उपसचिव शालिकराम रिजालले बताए।

No comments: