News

Apr 6, 2009

दलहरुको विरुद्ध प्रधानमन्त्रीको तीब्र आक्रोश

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले माओवादीको नेतृत्वमा संविधान लेख्न नदिने उद्देश्यले सत्ता सहयात्री दलहरुले समेत संसदमा अवरोध खडा गरेको गम्भीर आरोप लगाएका छन्। उनले सेना समायोजनको विधि लगायतका विषयमा दलहरुबीच बेला-बेला देखिने गरेका मतभेदलाई, उनकै शब्दमा,तानाशाही शासन लागू गर्ने षड्यन्त्रको हिस्साको रुपमा अर्थ्याए। एकीकृत नेकपा माओवादीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड आफ्नो पार्टीले मनाउँदै आएको जनआन्दोलन दिवसको अवसरमा सोमबार काठमाण्डूमा आयोजित आमसभामा बोल्दै थिए। उनको आक्रोशको निशाना पूर्वराजा ज्ञानेन्द्र वा प्रतिपक्षी पार्टीहरुमात्र भएनन्, सत्तासझेदार नेकपा एमालेलाई पनि छाडेनन् उनले। प्रधानमन्त्री प्रचण्डको अरोप थियो, “(पूर्व राजा) ज्ञानेन्द्रदेखि हिजो उनको अघिपछि घुम्नेहरु माओवादीको नेतृत्वमा संविधान लेख्न नदिन संसदमा अवरोध गर्ने, बखेडा झिक्ने, निहुँ खोज्ने र भाँजो हाल्ने गरिरहेका छन्।”आफ्नो नेतृत्वमा सरकार गठन गर्न मुख्य सहयोगी बनेको पार्टी नेकपा एमालेका पूर्वमहासचिव माधवकुमार नेपालको ‘हतियार सहितको माओवादीलाई सरकारमा ल्याउनु गल्ती भएको’ भनाइतर्फ संकेत गर्दै उनले अर्को प्रहार गरेका थिए।प्रधानमन्त्री प्रचण्डले आक्रोशपूर्ण भाषामा भने, “के तिनले ल्याएको हो? के तिनका बाउको बिर्ता हो नेपाल राज्य? सरकार बनाउने ठेक्का तिनले लिएको हो? ठेकेदार हो तिनीहरु?” तर उनले आफू आक्रामक भएर नबोलेको बरु खण्डन मात्र गरेको बताएका थिए। उनले भने, “मैले गाली गरेको हैन। साथीहरुको तर्कको खण्डन मात्रै गरेको हुँ। म आक्रामक भएं भने अलि अर्कै हुन्छ। यहाँ म रक्षात्मक रुपमै बोली राख्या' छु।”माओवादीले काठमाण्डू सहित देशका केही प्रमुख स्थानहरुमा आमसभाको आयोजना गरेको थियो। त्यसलाई प्रभावित गर्ने गरी माओवादीबाट छुट्टिएकाहरुले गठन गरेका र वैचारिक रुपमा माओवादी निकट मानिने साना कम्युनिष्ट पार्टीहरुको आव्हान र समर्थनमा नेपाल बन्दको आह्वान गरिएको थियो। बन्दका क्रममा आफ्ना दर्जनौं नेता-कार्यकर्तालाई गिरफ्तार गरिएको आयोजकहरुले बताएका छन्।काठमाण्डूस्थित हाम्रा संवाददाता भन्छन्, बन्दकै प्रभावले पनि हुनसक्छ, विगतको तुलनामा माओवादीको सोमबारको सभामा निकै कम सहभागिता थियो।

No comments: