News

Apr 2, 2009

पारसको अन्तर्वार्ताको शृङ्खला सुरु सिङ्गापुरको 'द न्यु पेपर' ले

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लगातार तीन दिनदेखि पूर्वयुवराज पारस शाहसँगको अन्तर्वार्तामा आधारित समाचार प्रकाशन गरिरहेको सिङ्गापुरको 'द न्यु पेपर' ले मंगलबारको अङ्कमा एउटी महिलालाई पारसको हितैषीका रुपमा चिनाएको छ ।सो पत्रिकाले समाचारको पहिलो वाक्यमै लेखेको छ, '४५ वर्षीया एञ्जेला चेङको केवल एउटा टेलिफोन कलले नेपालका हिमाल हल्लाउन सक्छ ।' पत्रिकाले पारसको अन्तर्वार्ताको शृङ्खला सुरु गरेको छ । अन्तर्वार्तामार्फत् पारसले विवादास्पद दरबार हत्याकाण्डमा आपनो संलग्नता नभएको पहिलोपटक र्सार्वजनिकरुपमा स्पष्टीकरण दिन खोजेका छन् । उनले तत्कालीन राजा वीरेन्द्रको वंश समूल नष्ट हुने सो घटना दीपेन्द्रले नै गराएको जिकिर गरेका छन् । जर्मन हतियार भित्र्याउने विषयमा बाबु-छोराबीच भएको मतभेदका कारण हत्याकाण्ड भएको पारसको दावी छ ।नेपालमा राजतन्त्रको अन्त्यपछि पूर्वराजा ज्ञानेन्द्र पहिलोपटक विदेश (भारत) भ्रमणबाट फर्किएकै बेला पारसको अन्तर्वार्ताको यो शृङ्खला सुरु भएको छ । नेपालका ठूला राजनीतिक दलहरुले प्रतिगमनको खतरा समाप्त नभएको टिप्पणी गरिरहेकै बेला सुरु भएको अन्तर्वार्ताको यो शृङ्खला प्रायोजित भएको विश्लेषकहरुको अनुमान छ । कुनै न कुनै रुपमा नेपालमा राजतन्त्र जीवित राख्न सहयोग खोज्दै भारत पुगेका ज्ञानेन्द्र भर्खरै नेपाल फर्किएका छन् भने नेपालकै एकथरि शक्ति राजतन्त्र फर्काउने कसरत गरिरहेका छन् । त्यसो त रक्षा मन्त्रालयको आदेश अस्वीकार गरेर नेपाली सेनाले पनि एउटा सन्देहलाई जन्म दिएको छ । परम्परागतरुपमा राजतन्त्रप्रति वफादार रहँदै आएको सेनाको वर्तमान नेतृत्व पनि लोकतान्त्रिक हुन नसकेको आरोप लाग्ने गरेको छ । यसै पृष्ठभूमिमा 'द न्यु पेपर' मा पूर्वराजतन्त्रसँग सम्बन्धित संवेदनशील विषयमा सनसनीखेज सामग्री प्रकाशित भइरहेका छन् ।सो पत्रिकाले सन् २००६ मा नेपालमा राजतन्त्रविरोधी आन्दोलन चर्किएका बेला एञ्जेला चेङले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई फोन गरी पूर्वराजा ज्ञानेन्द्रलाई भेटेर 'बेबी किङ' को प्रस्ताव राख्न आग्रह गरेको दाबी गरेको छ । ती महिलाले 'द न्यु पेपर' लाई भनिन्, 'नेपालका तत्कालीन प्रधानमन्त्री कोइरालाले मलाई मेरो भूमिकाका लागि तिमी शान्तिका लागि नोबेल पुरस्कार पाउन लायक छौ भने । पूर्वराजा वीरेन्द्रकी दिदी शान्तिलाई नेपालमा अनाथालय चलाउन आर्थिक सहयोग जुटाइदिने क्रममा नेपालको तत्कालीन राजपरिवारसँग १० वर्षघि आपनो सर्म्पर्क बढेको ती महिलाको दावी छ । राजतन्त्रको अन्त्यपछि सिङ्गापुर गएका पूर्वयुवराज पारसलाई पनि आपैले बसोबासको प्रबन्ध मिलाइदिएको एञ्जेलाले 'द न्यु पेपर' लाई बताएकी छिन् ।'बेबी किङ' को योजनालाई पूरा बनाउन एञ्जेला यसपटकको तिहारमा नेपाल आउने सुरमा छिन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर 'एकता' को प्रस्ताव अघि सार्ने बताइन् । 'ज्ञानेन्द्रका नाति हृदयेन्द्रलाई राजा बनाउन प्रस्ताव राख्नेछु । उनीसँग कार्यकारी अधिकार हुने छैन, केवल सामाजिक गतिविधिमा उनी सक्रिय हुनेछन् ।' एञ्जेलाले पत्रिकालाई भनेकी छिन् । ज्ञानेन्द्रका छोरा पारस लोकप्रिय नभएको र उनी स्वयं राजा हुन लायक नभएको स्वीकारिसकेकाले हृदयेन्द्रलाई राजा बनाउनुपर्ने एञ्जेलाले बताइन् । प्रधानमन्त्रीले मान्लान् त - 'अवश्य मान्छन् ।' उनी भन्छिन् ।

No comments: