News

Apr 2, 2009

महासँघका सल्लाहकार बुद्धिबहादुर थापा निष्काशन

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ/प्रकाश के.सी.
गत १७ तारिख प्रहरीको गोली प्रहारबाट मारिएका नेपाली युवक दिलबहादुर लिम्बूको मृत्युको विरुद्धमा सम्पूर्ण हङकङवासी नेपालीहरुको प्रतिनिधित्व गर्ने गरी हङकङ नेपाली महासँघले सबैको सल्लाहमा गत २९ तारिख एउटा वृहत मौन विरोध जुलुशको आयोजना सम्पन्न गरेको छ, जसको बारेमा हिजो बेलुका जोर्डनस्थित याक एण्ड यती रेष्टुरेन्टको सभाहलमा एक समीक्षात्मक कार्यक्रम गरिएको छ । उक्त विरोध जुलुशको संघर्ष समितिले गत २९ तारिखको मौन जुलुशको बारेमा तथा उक्त विरोधको प्राप्ति तथा भावी कार्यक्रमहरुको जानकारी सर्वत्र गराउने र नयाँ वार्ता टोली गठन गर्ने आसयमा राखिएको कार्यक्रमलाई महासँघले आयोजना गरेको थियो ।पुलिसको अत्यधिक शक्तिको प्रयोगले गर्दा अनाहक ज्यान गुमाउन पुगेको मृतक लिम्बूको बाँच्न पाउने अधिकार खोसिएको भन्दै नेपालीलगायत अन्य समुदायहरु पनि एकबद्ध भएको सन्दर्भमा हिन्सका अध्यक्ष बुद्धिबहादुर थापा जो हङकङ नेपाली महासँघका सल्लाहकार पनि थिए ले भाँजो हाल्ने कार्य गरेको भन्दै हिजो बसेको वैठकको पूर्ण सम्मतमा उनलाई उनको सल्लाहकारको पदबाट निष्काशन गरिएको जानकारी सूचना विभागका किसन र्राईले जानकारी गराएका छन् ।हङकङेली नेपाली समुदायको यस घडीमा र सोही विषयमा पूर्ण प्रतिनिधित्व हङकङ नेपाली महासँघलाई दिने गरी महासँघबाहिरका अन्य संस्थाहरु जस्तै नेपाल च्याम्बर अफ कमर्श, गैरआवासीय नेपाली संघ आदि पनि महासँघलाई पूर्ण रुपमा सघाइरहेको अवस्थामा हङकङ नेपाली महासँघकै सल्लाहकार बुद्धिबहादुर थापाले आफ्नो संस्था हिन्सको तर्फबाट यस विरोध समितिलाई थाहै नदिई हङकङ पुलिसमा विरोधपत्र पठाएका थिए र जसको प्रतिउत्तरमा पुलिसले हिन्सलाई स्पष्टिकरणस्वरुप पत्र पठाएको थियो । सोही पत्र जसमा पुलिसले उक्त गोली चलाउने प्रहरीको नियत कुनै किसिमले पनि भेदभावपूर्ण नभएको आदि जनाउँदै यस विषयमा राम्ररी छानविन गरिने जानकारी महासँघले आयोजना गर्न थालेको वृहत मौन जुलुशको दुइ दिनअगाडि पठाएको थियो र सोही पत्रलाई हिन्सबाट सम्पूर्ण नेपाली पत्रपत्रिकालगायत महासँघ आदि संस्थाहरुलाई पठाएको थियो । महासँघले सो प्रकृयालाई अत्यन्तै निम्न स्तरको ठानेको छ । महासँघका अनुसार त्यसरी विरोध पत्र बुझाउने वा स्पष्टिकरण माग्ने आदि काम गरिने भए हङकङ नेपाली महासँघले नै गर्ने थियो तर एक पटक गम्भीर रुपमा नेपाली समुदायको असन्तुष्टी देखाउनकै लागि पनि मौन जुलुश गरिने निर्णय भएअनुसार कार्यक्रमहरु अगाडि बढाइएकोमा हिन्सबाट यो संस्थाले सम्पूर्ण नेपालीहरुको प्रतिनिधित्व गरेको भान पार्ने गरी खेल खेली महासँघको कार्यलाई असंगत बनाउने प्रयास गरेकोले तिनका अध्यक्ष जो महासँघको सल्लाहकार हुँदाहुँदै पनि यसको विरुद्धमा काम गरेको भन्दै निजलाई सदाकै लागि सल्लाहकारबाट हटाइएको निर्णय महासँघले गरेको छ ।मृतक लिम्बूकी श्रीमती र छोरी हङकङ आइपुगेका छन् । मृतक लिम्बूको शवलाई फ्रिजरमा राखिएको १८ औं दिन भएको छ र उक्त शव मृतकको नजिकको व्यक्तिलाई मात्र हस्तान्रतण गरिने जनाइएको थियो । आयन्दा दिनहरुमा सरकारीलगायत विभिन्न निकायहरुसँग वार्ता गरिरहनु पर्ने भएकोले हिजो बसेको बैठकले पाँच सदस्सीय वार्ता टोली तयार गरेको छ, जसमा यस संयोजक समितिका संयोजक तथा महासँघका अध्यक्ष हेम लिम्बू, सोही समितिका प्रवक्ता गणेश इजम, समितिका सूचना तथा प्रचार प्रसार विभागका किसन राई, यनआरयन हङकङका अध्यक्ष त्रिलोक गुरुङ तथा मृतकको परिवारको तर्फबाट त्रिभुवन लिम्बू रहेका छन् ।

No comments: