News

Apr 4, 2009

साउदी अरबमा ११ नेपाली महिलालाई चरम यातना

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउदी अरबमा ११ नेपाली महिलालाई 'मालिक'ले कोठामा थुनेर चरम यातना दिएका छन् । भारतीय ३२ हजारमा साउदी अरबमा बेचिएकी एक चेलीले यातनापीडित भएको सुनसरी प्रहरीलाई बताएकी छिन् । सुनसरी सोनापुर-१ की २९ वर्षीया कमला ढकालले आफूलगायत ११ जना नेपाली महिलालाई अनैतिक कार्य गर्न नमानेकाले कोठामा थुनेर चरम यातना दिइएको शुक्रबार बताएकी हुन् । भारतको मुम्बईबाट फूलमाया दनुवार बनाएर झापा चकचकीका भोला दंगालले उनलाई साउदी पुर्‍याएका हुन् । पीडित कमलाले शुक्रबार बिहान इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक भद्रमान मोतेसँग टेलिफोन कुराकानीमा आफूहरूलाई यातना दिएको बताएकी हुन् । करिब ११ मिनेटसम्म भएको कुराकानीमा उनले एक छाक तर आधा पेटमात्र खान दिएर एउटा कोठामा थुनेर शारीरिक यातना दिइएको बताएकी छिन् । उनले आफूहरूको तत्काल उद्धार गर्न आग्रह गरेको प्रहरी निरीक्षक मोतेले बताए । प्रनि मोतेका अनुसार पीडित कमलाले टेलिफोनमा भनिन्, 'तिमीहरूलाई हामीले एजेन्टबाट मोटो रकम दिएर खरिद गरेका हौं, हामीले जे भन्यो त्यो गर्नुपर्छ भन्दै जबर्जस्ती गर्न खोजे, नमानेपछि एउटा कोठामा बाहिरबाट ताला लगाई थुनेका छन् ।' बिहान दिसा-पिसाब गर्न बाहिर निकाल्ने र बेलुका खाना खुवाउने वेला मात्र ढोकाको ताला खोल्ने गरेको पनि उनले बताएकी छिन् । 'हामीलाई कोठामा थुनेपछि मालिकका अन्य व्यक्तिहरू कोठाभित्र पस्ने गरेको र आफूहरूसँग यौनसम्पर्क गरेमा मुक्त गर्ने बताउने गरेको' जानकारी पनि टेलिफोन कुराकानीमा कमलाले प्रनि मोतेलाई बताएकी छिन् । सबैले अस्वीकार गरेपछि दैनिक लठ्ठी, मुग्री, मुक्का तथा लात्तीले कुटपिट गर्ने गरेको पनि उनले जनाएको मोतेले बताए । तर, साउदीको कुन सहर र कसको घरमा थुनिएको हो भन्नेबारे उनले जानकारी दिएकी छैनन् । ठेगाना सोध्दा भन्न नमिल्ने भन्दै केही नबताएको प्रनि मोतेले बताए । उनका अनुसार पीडित महिलासँग कुराकानी गर्नुअघि अरबियन भाषा बोल्ने व्यक्तिले पनि ठेगाना बताएनन् । ठेगाना पत्ता नलागे पनि टेलिफोनकै आधारमा साउदीमा बन्दी हुन बाध्य महिलालाई उद्धार गर्न प्रक्रिया थालेको प्रनि मोतेले जानकारी दिए । उनका अनुसार कूटनीतिक रूपमा कुराकानी गरी उनीहरूको उद्धार गर्न परराष्ट्रमन्त्री उपेन्द्र यादवका स्वकीय सचिवमार्फत् प्रक्रिया थालिएको छ । भारत र साउदी अरबका नेपाली दूतावासलाई पत्राचार गर्ने तयारी पनि पूरा भएको उनले बताए । कमलाले आफूलाई साउदीमा ल्याउने भोला दंगालले चाहेमा तत्काल उद्धार हुने बताएकाले उनको खोजी भइरहेको पनि प्रनि मोतेले बताए । प्रहरीका अनुसार भोला भारतको मुम्बईमा बस्दै आएका छन् । कमलाले दिदी कुमारी र भिनाजु हेमप्रसाद घिमिरेसँग पनि कुराकानी गरेकी थिइन् । चरम यातनाबाट छुटाउन आफूसँग पनि आग्रह गरेको भिनाजु हेमप्रसादले बताए । पारिवारिक स्रोतका अनुसार कमलालाई गत १५ माघमा मोरङ इन्द्रपुरकी प्रमिला बस्नेत, श्रीमान् राजकुमार र रञ्जित साहले भारतको मुम्बई पुर्‍याई फूलमाया दनुवार नाम बनाएर साउदी पुर्‍याएका थिए ।

No comments: