लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नयाँदिल्ली/ एक आक्रोशित भारतीय पत्रकारले त्यहाँका गृहमन्त्री पी चिदम्बरममाथि मंगलबार जुत्ता प्रहार गरेका छन् । चिदम्बरम अलिकति ढल्किएका कारण उनलाई जुत्ता लाग्न पाएन । जुत्ता उनकै छेउबाट गयो । आफूविरुद्ध जुत्ता प्रहार भए पनि चिदम्बरम शान्त थिए । जुत्ता
छलेपछि उनी मुसुक्क मुस्कुराए । उनले जुत्ता हिर्काउने पत्रकारलाई बाहिर लैजान प्रहरीलाई आग्रह गरे । 'कृपया उनलाई बाहिर लैजानुस्,' उनले भने । कंग्रेस पार्टीका कार्यकर्ताले जुत्ता प्रहार गर्ने पत्रकारलाई बाहिर लगे । पत्रकार-सम्मेलन जारी रह्यो । भारतीय गुप्तचर संस्था सिबिआईले सन् १९८४ मा भएको शिखविरोधी हिंसासम्बन्धमा कंग्रेस नेता जगदीश टाइटलरलाई सफाइ दिएका बारेमा यी पत्रकारले चिदम्बरमलाई प्र्रश्न सोधेका थिए । चिदम्बरम प्र्रश्नको उत्तर दिँदै थिए । त्यही क्रममा आक्रोशित ती पत्रकारले जुत्ता प्रहार गरे । जुत्ता प्रहारकर्ता दैनिक जागरण पत्रिकाका २४ वषर्ीय पत्रकार जर्नेल सिंह भएको बताइएको छ । 'भावनामा बहकिएर मानिसले यस्तो गर्छन् । म जुत्ता हान्ने पत्रकारलाई माफ गर्छु,' जुत्ता प्रहारपछि चिदम्बरमले भने । १६ अपि्रलबाट सुरु हुने आमचुनावपछि आतंकवादसँग जुझ्ने रणनीतिबारे कंगे्रस पार्टीको प्रतिवेदन सार्वजनिक गर्न गृहमन्त्रीले पत्रकार-सम्मेलन आयोजना गरेका थिए । कार्यक्रमस्थलबाट बाहिर आएपछि जुत्ता प्रहारकर्ता जर्नेल सिंहले टेलिभिजनमा भने, 'देशको गृहमन्त्रीमाथि जुत्ता प्रहार गरिनुहुँदैन थियो । तर, म भावावेशमा थिएँ । म यसका लागि माफ माग्दिनँ । २५ वर्षदेखि शिखलाई न्याय मिलेको छैन ।' गत वर्षको डिसेम्बरमा संयुक्त राज्य अमेरिकाका तत्कालीन राष्ट्रपति जर्ज डब्लु बुसमाथि इराकमा भएको पत्रकार-सम्मेलनमा इराकी पत्रकार मुन्तदार अल जइदीले जुत्ता प्रहार गरेका थिए । जुत्ता प्रहार गरेको आरोपमा उनलाई प्रहरीले गिरपmतार गर्यो । अदालतले उनलाई तीन वर्षको सजाय तोकेको छ । चीनका प्रधानमन्त्री बेन जियाबाओमाथि पनि जुत्ता प्रहार गरिएको थियो ।

No comments:
Post a Comment