News

Apr 7, 2009

'बोक्सीकाण्ड’को छानबिन समिति गठन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्युटार घटना अनुसन्धान गर्न व्यवस्थापिका संसद् महिला बालबालिका तथा समाजकल्याण समितिले १७ सदस्यीय छानबिन उपसमिति गठन गरेको छ । सबै राजनीतिक पार्टीका प्रतिनिधि सम्मिलित समितिले सोमबार सभामुख सुवास नेम्वाङलाई भेटी घटनाबारे ध्यानाकर्षण गराएको थियो । उपप्रधानमन्त्री तथा गृहमन्त्रीले दोषी पक्राउ गर्ने प्रतिबद्धता जनाएको पाँच दिन बितिसक्दा पनि पक्राउ नपरेको जानकारी समितिले सभामुख नेम्वाङलाई गरायो । सभामुखले घटनाको छानबिन, अध्ययन र कारबाहीका लागि कुनै कसर बाँकी नराख्न निर्देशन दिएको समितिका संयोजक सभासद् विनोद पहाडीले नयाँ पत्रिकालाई बताए । नेम्वाङले आवश्यक साधन-स्रोत संसद्बाट लिन अनुरोध गरेको पनि उनले जानकारी दिए । 'समिति क्रियाशील हुँदा सिंगो संसद् क्रियाशील हुन्छ,' नेम्वाङलाई उद्धृत गर्दै पहाडीले भने । समितिले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटी घटनाबारे अवगत गराउनेछ । 'प्रधानमन्त्रीलाई भेटी दोषीमाथि कारबाहीका लागि अनुरोध गर्छौं,' उनले भने । त्यस्तै, महिला मन्त्रालयका सचिव, दलित आयोगका अध्यक्ष, दलित विकास समितिका उपाध्यक्ष, जनजाति उत्थान प्रतिष्ठानका पदाधिकारीलाई भेटी पीडितलाई पुनस्र्थापित गराउन पहल गरिने भएको छ । बुधबार शिक्षामन्त्री र शिक्षा सचिवलाई बोलाई दोषीमाथि विभागीय कारबाहीका लागि कस्तो पहल भएको छ भन्ने विषयमा स्पष्टीकरण सोध्ने समितिले जनाएको छ । समितिले बिहीबार महिला सभासद् तथा मानवअधिकारकर्मीलाई बोलाएर छलफल गर्ने जनाएको छ । प्युटार- ७ की शिक्षिका विमला तामाङले सोही गाउँकी महिलालाई बोक्सीको आरोप लगाउँदै सार्वजनिक रूपमा दिसा कोच्याएकी थिइन् ।

No comments: