News

Apr 9, 2009

कर्मचारी र लेखनदास घुस लिँदालिँदै पक्राउ परे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जिल्ला मातपोत कार्यालय काभ्रेका एक कर्मचारी र एक लेखनदास बुधबार घुस लिँदालिँदै पक्राउ परेका छन् । मालपोत कार्यालयका खरदार गणेश भट्टराई र लेखनदास माधव पराजुलीलाई जिल्ला प्रशासन कार्यालयले पक्राउ गरेको हो । भट्टराई माओवादीनिकट कर्मचारी संगठनका जिल्ला उपाध्यक्षसमेत हुन् । ओखलढुंगाका ओमप्रकाश वाग्लेले स्वर्गीय श्रीमती सीतादेवी वाग्लेको नाममा रहेको धुलिखेल-६ को जग्गा आफ्नो नाममा नामसारी गर्ने क्रममा उनीहरूले घुस लिएका हुन् । धेरै पटक अनुरोध गर्दा पनि घुस नदिई नामसारी नगर्ने बताएपछि चार हजार रुपैयाँ घुस दिएर बुधबार जग्गा नामसारी गरेको वाग्लेले बताए ।पटकपटक घुस मागेपछि वाग्लेले बुधबार नै जिल्ला प्रशासन कार्यालयमा जानकारी दिएका थिए । प्रशासनसँगको सहमतिमा उनले लेखनदास पराजुलीमार्फत भट्टराईलाई घुस दिने क्रममा प्रशासनले उनीहरूलाई पक्राउ गरेको हो । वाग्लेका अनुसार श्रीमतीको मृत्युपछि आफ्नो नाममा जग्गा नामसारी गर्न खोज्दा खरदार भट्टराईले पाँच हजार रुपैयाँ नदिई काम नगर्ने अडान लिएका थिए । २९ माघमा नामसारीका लागि मालपोत कार्यालयमा निवेदन दिए पनि घुस नदिएका कारण अहिलेसम्म झुलाइएको उनले बताए । 'पटक-पटक नामसारी गरिदिन आग्रह गर्दा पनि नमानेपछि प्रशासनलाई जानकारी गराएर प्रशासनकै सहमतिअनुसार घुस दिएको हुँ,' वाग्लेले भने । पक्राउ परेका कर्मचारी भट्टराईले भने आफूले घुस नलिएको दाबी गरे । 'मैले पैसा लिएकै छैन, मलाई यसबारेमा थाहा पनि छैन,' उनले भने । लेखनदास पराजुलीले भने आफ्नो पहिलेदेखिको कारोबार मिलाउन पैसा लिएको बताए । वाग्लेले भने भट्टराईले भनेबमोजिम पराजुलीमार्फत घुस दिएको दाबी गरेका छन् । 'भट्टराईले पराजुलीमार्फत पैसा दिनु काम हुन्छ भनेपछि पैसा दिएको हुँ,' वाग्लेले नयाँ पत्रिकासँग भने । जिल्ला प्रशासन कार्यालयले उनीहरूमाथि अनुसन्धान भइरहेको बताएको छ ।

No comments: