News

Apr 9, 2009

दरबारका २ सचिव ५ सहसचिवसहित १०७ कर्मचारीलाई अवकाश

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारले तत्कालीन राजप्रसाद सेवाअन्तर्गत रहेका दरबारका दुई सचिव र पाँच सहसचिवसहित एक सय सातजना कर्मचारीलाई अवकाश दिएको छ ।अवकाश पाउनेमा पाँच उपसचिव, पाँच सहायक-सचिव र २१ शाखाअधिकृतसमेत छन् । सामान्य प्रशासन मन्त्रालयको मन्त्रीस्तरीय बैठकले ती कर्मचारीलाई आगामी १ वैशाखदेखि लागू हुने गरी अवकाश दिने निर्णय गरेको हो । तत्कालीन राजप्रसाद सेवाअन्तर्गत रहेका दरबारका ती कर्मचारीलाई सरकारले सो सेवा खारेज गरी नेपाल विविध सेवाअन्तर्गत विशेष समूहमा राखेको थियो । विशेष समूहमा राखिएको भए पनि ती कर्मचारीलाई लक्षित गरी सरकारले स्वेच्छिक अवकाश योजना ल्याएपछि सोही योजनाअन्तर्गत अवकाश दिइएको हो । सामान्य प्रशासन मन्त्रालयका सहप्रवक्ता प्रदीप कोइरालाले विशेष समूहअन्तर्गत रहेका झन्डै पाँच सय कर्मचारीमध्ये एक सय सातजनालाई अवकाश दिइएको जानकारी दिए । स्वेच्छिक अवकाशका लागि एक सय १४ जनाको निवेदन आएकोमा ६ जनाको निवेदन अस्वीकृत भएको मन्त्रालयले जनाएको छ । एक जनाले भने अवकाशका लागि निवेदन दिए पनि पछि फिर्ता लिएका थिए । अस्वीकृत भएका सबै सैनिक सेवाबाट विशेष समूहमा आएका छन् । उनीहरूको निश्चित मापदण्ड पूरा नभएकाले अवकाश नदिएको कोइरालाले जानकारी दिए । यसैगरी सरकारले २४ घ 'क' अनुसार बढुवा भएका १३ हजार कर्मचारीका लागि केन्दि्रत गरी ल्याएको स्वेच्छिक अवकाश योजनामा अवकाशका लागि निवेदन दिने कर्मचारीको संख्या ९३ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार निवेदन दिनेमध्ये ३७ जना राजपत्रांकित तहका र ५६ जना राजपत्र अनंकित तहका छन् । मन्त्रालयले गत ३ चैतमा राजपत्रमा सूचना प्रकाशत गरी ४ गते स्वेच्छिक अवकाशका लागि निवेदन आह्वान गरेको थियो । निवेदन आह्वान गरिएको झन्डै एक महिना बित्न लागिसक्दा थोरै संख्यामा मात्रै निवेदन आएको मन्त्रालयले जनाएको छ । निवदेन दिन मन्त्रालयले वैशाख मसान्तसम्मको म्याद दिएको छ ।

No comments: