News

Apr 7, 2009

दुई भाषामा 'माराम’(मूल बाटो) फिल्म निर्माण भयो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पाँचथरको फिदिममा लिम्बू संस्कृतिमा आधारित 'माराम' (मूल बाटो) नामक फिल्म निर्माण भएको छ । लिम्बूनी फिल्मस् प्रालिको ब्यानरमा निर्मित यस फिल्मको फिदिममा हालै प्रिमियर शो सम्पन्न भएको छ । नेपाली र लिम्बू भाषामा निर्माण भएको यस फिल्मको कथा तथा निर्देशन सूर्यप्रसाद चेम्जोङले गरेका छन् । 'माराम' मा पूर्वी लिम्बुवानमा बसोवास गर्दै आएका लिम्बू समुदायबीचको धार्मिक आस्थाको विषयलाई चित्रित गरिएकाले यस फिल्मले अन्य भाषाका चलचित्रभन्दा बेग्लै पहिचान र चर्चा पाएको दाबी निर्देशक सूर्यको छ । आफ्नो फिल्ममा पूर्वी लिम्बुवानमा केही वर्षयता व्याप्त धार्मिक अन्तर्द्वन्द्वको कथा समेटिएको बताउँदै निर्देशक सूर्य यस फिल्मले लिम्बू समुदाय पनि धार्मिक हिसाबले विभाजित छ भन्ने सन्देश बोकेको जिकिर गर्छन् । उनी भन्छन्, 'मैले फिल्ममा सबै मानिस एकै हुन्, फरक धर्म र संस्कृतिमा मात्र हुन्छ भन्ने सन्देश प्रस्तुत गरेको छु । यस मानेमा म आफूलाई सफल ठान्छु ।' आफ्नो फिल्म छिट्टै काठमाडौंलगायत धरान, दमक, पथरी र इलाममा प्रदर्शन हुने निर्देशक चेम्जोङ बताउँछन् । रोहित थेबे, प्रेम सुब्बा, माया तुम्बा, बबिता नेयोङहाङ, नरवीर नेम्बाङ, उदीपकुमार चेम्जोङ, मलिसा याक्थुङ्बा, सविता चेम्जोङ, देउकुमार म्याङ्बो, रोजनी नेम्बाङ आदि कलकार मुख्य भूमिकामा रहेको 'माराम' को सफलताबाट प्रेरित भएर अब अर्का फिल्म निर्माण गर्ने तयारीमा रहेको उनी बताउँछन् । उनको अर्का फिल्मको नाम रहेको छ- चुङ्गी ।

No comments: