News

May 17, 2009

राष्ट्रपतिको कदमको विरोधमा माओवादीद्वारा सभा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आफ्नो नेतृत्वको सरकारले हटाएको प्रधानसेनापतिलाई काम गरिरहन राष्ट्रपतिले दिएको निर्देशन विरुद्ध एकिकृत नेकपा माओवादीले राजधानी काठमाण्डू लगायत प्रमुख शहरहरुमा वृहत सभा र र्‍याली गरेको छ।प्रधानसेनापति बर्खास्तीले निम्त्याएको विवादसंगै शान्तिप्रकृया समेत खतरामा परेको ठानिएको बेला एकिकृत नेकपा माओवादीको सभामा प्रमुख अतिथि बनेका कामचलाउ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्यही प्रसंग कोट्याउँदै भाषण शुरु गरेका थिए। उनले भने, “म तपाई न्यायमूर्तीहरुको अगाडि कठघरामा उभिएर पछिल्ला राजनीतिक घट्नाक्रमबारे साविती बयान दिँदैछु।”करिव चालिस मिनेट लामो आफ्नो ‘बयान’ मा उनको आक्रोशको निशाना भने खासगरी विदेशी शक्ती र गैरमाओवादी ठूला दलहरु भएका थिए।सेनापतिलाई हटाउने आफ्नो नेतृत्वको सरकारको निर्णय उल्टाउन राष्ट्रपति डा.रामबरण यादवको निर्देशनको तीव्र आलोचना गर्दै प्रचण्डले भने, “राष्ट्रपतिले जसरी असम्वैधानिक, अलोकतान्त्रिक, निरंकूश र हुकुमी तरीकाले जंगी अड्डालाई निर्शेदन दिनु भयो, त्यो मलाई १५ दिन अघि नै थाहा भैसकेको थियो। त्यो अन्त कतै तयार भैसक्या थियो।” प्रचण्डले भाषण गरिरहेका बेला नजिकैको सिंहदरवारमा एमालेको नेतृत्वमा बहुमत पुगेको ताजा खबरप्रति पनि उनले आक्रोशपूर्ण टिप्पणी गरेका थिए।उनको भनाई थियो, “त्यो त विदेशी प्रभुहरुको इशारा र यथास्थितिवादी, दक्षिणपन्थी र प्रतिक्रान्तिवादीहरुको आड भरोसामा बनेको हो। त्यसकारण तिनको शीर कहिल्यै ठाडो हुने छैन।”राष्ट्रपतिको कदम र नयाँ सरकार गठनको अभ्यासलाई प्रचण्डले माओवादीलाई उत्तेजित पारेर विद्रोहमा उतार्ने र मुठभेड निम्त्याएर विदेशी सेना भित्र्याउने विदेशी चालको रुपमा अर्थ्याए।
तैपनि आफूहरु शान्ति प्रकृया र नयाँ संविधान लेखनबाट नभाग्ने बताउँदै उनले चेतावनीयुक्त शैलीमा भने, “शान्तीको लडाई काठमाण्डू वा हरेक सदरमुकाममा लड्नेछौं र ती हत्याराहरु, अपराधीहरु र ती विदेशी दलालहरुलाई कुनै पनि हालतमा छुट दिने छैनौँ।”प्रधानसेनापति हटाउने निर्णय लागु नभए पछि सरकार छाडेर माओवादीले छेडेको आन्दोलनको क्रममा आइतवार काठमाण्डूमा गरेको प्रदर्शन सबैभन्दा ठूलो थियो। सभा शुरु हुनु अघि प्राय: व्यस्त रहने उपत्यकाका सडकको सवारी आवागमनलाई गम्भीर प्रभावित पार्दै विभिन्न स्थानबाट र्‍यालीहरु निकालिएका थिए।

No comments: