News

May 16, 2009

दार्जिलिङमा बीजेपीका जसवन्त सिंह विजयी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
छुट्टै राज्य 'गोर्खाल्यान्ड' को मागमा रुमलिइरहेको भारतको दार्जिलिङ क्षेत्रबाट हालै सम्पन्न १५ औं लोकसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) का उम्मेदवार जसवन्त सिंह भारी मतले विजयी भएका छन् । पश्चिम बंगालमा वामपन्थी पार्टीले कायम राख्दै आएको वर्चस्व तोड्दै भाजपा उम्मेदवार सिंह दार्जिलिङ क्षेत्रबाट शनिबार विजयी घोषित भएका हुन् । राजस्थानमा जन्मिए पनि दार्जिलिङका नेपालीभाषी र उनीहरूको मागप्रति सधैँ सकारात्मक हुदै आएका सिंहको विजयसँगै त्यसक्षेत्रका बासिन्दामा 'गोर्खाल्यान्ड' राज्य कायम हुने आशा बढेको छ । पश्चिम बंगालका ४२ सिटमध्ये महत्त्वपूर्ण मानिएको दार्जिलिङ क्षेत्रको एउटा सिटमा ७० वर्षीय सिंहले ४ लाख ९६ हजार ९ सय ३५ मत प्राप्त गरेका छन् । उनको मत निकटतम प्रतिद्वन्द्वीको भन्दा २ लाख ५३ हजार १ सय ६९ बढी छ । 'गोर्खाल्यान्ड' निम्ति संघर्षरत गोर्खा जनमुक्ति मोर्चाले यसपटकको चुनावमा भाजपालाई पूर्ण समर्थन गरेकाले सिंहको जित सहज भएको हो । यससँगै दार्जिलिङ क्षेत्रका नेपालीभाषीले दशकौंदेखि राख्दै आएको छुट्टै राज्यको मागलाई भाजपातर्फबाट सिंहले खुलेर समर्थन गरेका छन् ।दार्जिलिङ टाइम्स डटकमअनुसार निकटतम प्रतिद्वन्द्वी माक्र्सवादी कम्युनिस्ट पार्टीका जीवेश सरकारले भने २ लाख ४३ हजार ७ सय ६६ मत मात्र ल्याएका छन् । भारतीय राष्ट्रिय कंग्रेसका दावा नर्बुलाले १ लाख ८७ हजार ५ सय ५५ मत पाएका छन् । यसअघिको १४ औं लोकसभा चुनावमा उनी कंग्रेसबाटै दार्जिलिङका विजयी उम्मेदवार हुन् । चुनावमा प्रतिनिधित्व गर्ने दार्जिलिङका अन्य साना ठूला सात दलले भने नगन्य मत प्राप्त गरी नेपालीभाषीको एकतासामु कमजोर हुन पुगेका छन् ।भारतका पूर्वरक्षा तथा विदेश मन्त्रीसमेत भइसकेका जसवन्तको विजयसँगै दार्जिलिङ क्षेत्रका नेपालीभाषी शनिबार अपराह्नदेखि विजयोत्सव मनाउन सडकमा निस्किएका छन् । 'भाजपाको जित समग्र गोर्खाको जित भएकाले सबै हर्षोल्लासमा रमेका छन्,' सिंहको विजयपछि उक्त अनलाइन पत्रिकाले लेखेको छ- 'अब दार्जिलिङलाई पश्चिम बंगालबाट छुट्याएर गोर्खाल्यान्ड राज्य कायम गराउने बाटो खुलेको छ ।' आफ्नो जितपछि सिंहले दार्जिलिङवासीलाई धन्यवाद दिँदै भने, 'अब यतै एउटा घर बनाएर बस्नेछु । दार्जिलिङलाई स्वतन्त्रता दिन सदैव तयार हुनेछु ।' चुनावअघि नै भाजपाले दार्जिलिङका नेपालीभाषीले उठाएको 'गोर्खाल्यान्ड' को मागलाई जायज भन्दै आफ्नो पार्टी सरकारमा पुगे त्यो पूरा गराउने घोषणापत्रमा लेखेको थियो । आन्दोलनरत मोर्चाले त्यसैका आधारमा भाजपालाई समर्थन जनाएको हो ।'जसवन्तको जित भाजपाको मात्र होइन सबै नेपालीभाषीको जित हो,' मोर्चा अध्यक्ष विमल गुरुङले भने, 'सबैबीच एकता भयो भने जित सम्भव छ भन्ने यसपटककको चुनावले पुष्टि गरेको छ ।' गत अपि्रल ३० मा सम्पन्न चुनावको मत गणना शनिबार दार्जिलिङको नर्थपोइन्टस्थित एउटा स्कुलमा गरिएको थियो ।

No comments: