News

May 17, 2009

माधव नेपालको समर्थनमा ३५० हस्ताक्षर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेठ ३ मधेशी जनअधिकार फोरमले समर्थन दिएलगत्तै एमालेको नेतृत्वमा सरकार गठन गर्ने प्रयोजनका लागि स‌ंविधान सभा अध्यक्ष सुवास नेम्वाङसमक्ष २२ पार्टीको ३५० सभासदको हस्ताक्षर बुझाइएको छ। फोरम अध्यक्ष उपेन्द्र यादव र जेपी गुप्ता पनि हस्ताक्षर बुझाउन गएका थिए। अध्यक्ष नेम्वाङले आजै कार्यव्यवस्थाको बैठक बोलाई प्रधानमन्त्री निर्वाचनको प्रक्रिया अघि बढाउने बताए। तर उनी प्रधानमन्त्री छानिने व्यवस्थापिका संसद सबैभन्दा ठूलो दल एकिकृत नेकपा माओवादीले चल्नै दिएको छैन।त्यसैले गैरमाओवादी दलहरुले साढे तीनसय सांसदहरुको लिखित समर्थन रहेको भनिएको दाबी-पत्र सभामुख सुवासचन्द्र नेम्वाङलाई बुझाउँदै प्रधानमन्त्रीको चुनाव गराउन आग्रह गरेका थिए। हस्ताक्षर बुझेपछि सभामुख नेम्वाङले भने, “विगतमा कार्यव्यवस्था समितिको बैठक बोलाएर प्रधानमन्त्री चयनको मिति तोक्ने र त्यसको आधारमा प्रकृया अघि बढाउने नियम, अभ्यास र प्रचलन छ। त्यस अनुसार कार्यव्यवस्थाको बैठक डाकेर मिति तोक्न र प्रकृया अघि बढाउने पहल मेरो पक्षबाट हुन्छ।”
फोरममा विवाद
फोरममा माओवादी र गैर-माओवादी गठबन्धनको पक्ष र विपक्षमा मतभिन्नता थियो।त्यही विवादका माझ एमालेको नेतृत्वको सरकारको पक्षमा रहेका फोरम संसदीय दलका नेता विजयकुमार गच्छदारले मध्यान्हतिर बहुमत सांसदहरुको समर्थन एमालेलाई गर्ने घोषणा गरेका थिए।त्यसपछि अध्यक्ष उपेन्द्र यादवले पनि एमालेलाई पार्टीको समर्थन हुने पत्र पठाए। यादवले भावी सरकारमा फोरमको नेतृत्व कसले गर्ने भन्ने बारेमा भने केन्द्रिय समितिले निर्णय गर्ने जनाएका छन्। केन्द्रिय समितिमा उनको बहुमत छ। तर नेता गच्छदारले आफ्नै नेतृत्वमा सरकारमा जाने निर्णय भएको बताउँदै भने, “संसदीय दलको बहुमतको निर्णय अनुसार हामी सरकारमा गएर लोकतान्त्रिक गठबन्धनलाई बलियो बनाउनेछौँ।”पार्टीभित्र र पार्टी-पार्टीबीचको हानथाप र विवादका माझ मुलुकले नयाँ सरकार पाउने करिव निश्चित बने पनि माओवादीले संसदमा अवरोध हटाउने निर्णय गरिसकेको छैन। माओवादी अध्यक्ष प्रचण्डले भने सरकार गठनमा बाधा पुग्ने गरी संसद अवरोध नलम्ब्याउने धारणा व्यक्त गर्दै आएका छन्।

No comments: