लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पैसा ठूलो कुरा होइन, १५ सय मेरा लागि त लाखबराबर भो, पहिलोपटक राज्यले सम्मान गरेको थाहा पाउँदा गर्व अनुभूति भएको छ,' कलाकार शान्ति मास्केले भनिन् । चलचित्र विकास बोर्डले पहिलोपटक वृद्ध र अशक्त कलाकारलाई आजीवन भत्ताको व्यवस्था गरेकोमा निकै खुसी भएकी मास्केले भनिन्, 'बल्ल मलाई कलाकार बनेकोमा गर्वको अनुभूति भएको छ ।' बोर्डले मास्केलगायत गोपाल भुटानी र जयनन्दचन्द ठकुरीलाई चलचित्रकर्मी कल्याण कोषबाट मासिक १५ सय भत्ता उपलब्ध गराउने व्यवस्था गरेको छ । बिहीबार राजधानीमा आयोजित कार्यक्रममा उपस्थित कलाकर्मीले सामूहिक धारणा राखे, 'अब हामीलाई पनि यो देशमा सरकार भएको अनुभूति मिलेको छ ।' सरकारले भत्ता देला भनेर आशै नगरेको धारणा राख्ने अर्का कलाकार जयनन्दचन्द ठकुरीले पनि बोर्डको अहिलेको नेतृत्वले उल्लेखनीय काम गरेको बताउँदै भने, 'यो उत्साहले मेरो आयु बढेको महसुस भएको छ ।' दुई दशकदेखि अभिनयमा सक्रिय ठकुरी अहिले एक्लै हिँड्डुल गर्न सक्दैनन् । अभिनयमै सक्रिय रहे पनि आर्थिक रूपमा केही आर्जन नगरेका ठकुरी छोरीको घरमा बसेर बुढ्यौली जीवन बिताउँदै छन् । नेपालका पुराना द्वन्द्वनिर्देशक गोपाल भुटानीले पनि कलाकारितामा लागेर कमाउन नसकेको कुरा गर्दै भने, 'सुकुम्बासी टोलका साथीहरूले एउटा छाप्रो बनाइदिएका छन्, अब सरकारले चामल किन्ने व्यवस्था गरिदियो ।' चलचित्र कर्ममै तीन दशक बिताए पनि नेपाली नागरिकता नभएकोमा दुःख पोख्दै भने, 'चलचित्र क्षेत्रका साथीहरूले सम्मान गर्छन्, तर म अनागरिक हुँ, मसँग नागरिकता छैन ।' भुटानीको कुरा सुन्नेबित्तिकै बोर्ड अध्यक्ष भण्डारीले नागरिकताका लागि आफूले पहल गरिदिने आश्वासन दिए । 'तपाईंलाई नागरिकता दिलाउने विषयमा हामीले पहल सुरु गरिसकेका छौँ,' उनले भने । सोही कार्यक्रममा बोर्डले चलचित्र कल्याण कोष सञ्चालन कार्यविधि सार्वजनिक गरेको छ । कार्यविधिमा उल्लेख गरिएअनुसार अब छायांकनको सिलसिलामा मृत्यु भएका चलचित्रकर्मीको परिवारले क्षतिपूर्ति पाउनेछन् भने चलचित्र क्षेत्रसँग सम्बन्धित विभिन्न विधाका व्यक्तिलाई विभिन्नखाले सहयोग उपलब्ध हुने भएको छ । त्यस्तै, पदाधिकारीले बोर्डको विकासतर्फ नयाँ योजना पनि सार्वजनिक गरे । कार्यक्रममा बोर्ड सदस्य युवराज लामा र केपी पाठकले आ-आफ्ना धारणा राखेका थिए ।
No comments:
Post a Comment